बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने बताए । जन न्युज नेपाल खबरसँग संक्षिप्त कुरा गर्दै झाले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।
सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।
गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।