मंगलबार अपरान्ह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चले नवनियुक्त २० मन्त्रीलाई एकसाथ पदमुक्त गरेको खबर सुन्नासाथ दुईवटा प्रश्न मुखरित भए : एक– अब ईश्वर पोखरेल र प्रदीप ज्ञवालीहरुको मन्त्री पद पुनर्बहाली भयो कि भएन ? र, दुई– कतै तत्कालीन रामबहादुर थापा बादलसहित माओवादीका ७ मन्त्रीको पद पनि पो बहाली भयो कि ?
किनभने, सर्वोच्च अदालतको अन्तरिम आदेशमा स्पष्टसँग भनिएको छ कि प्रतिनिधिसभा विघटन गर्दाकै बेलाको मन्त्रिपरिषद कायम रहनुपर्छ । प्रतिनिधिसभा विघटन भएको विषेश परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद छ, त्यही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भन्ने स्पष्टरुपमा किटानीसाथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा मन्त्रि परिषद विस्तार गर्न नहुने अदालतले भनेको छ । उसोभए त्यसबेला मन्त्री रहेका ईश्वर पोखरेलको अवस्था के हुन्छ त ? सामान्य नजरले हेर्दा यो प्रश्न स्वाभाविकै जस्तो पनि देखिन्थ्यो ।