काठमाण्डु – गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४/४ मन्त्रालय पाउने भएका छन् ।
कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । माओवादी केन्द्रबाट अब तीन मन्त्री थपिनेछन् । यसअघि मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको
सपथ लिएकी अधिकारी बाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।
माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य यसअघि उक्त दलबाट मन्त्री बनिसकेका छन् । उक्त दलबाट गत शनिबार सपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा) ले असन्तुष्टि राखेकी थिइन् । स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि मन्त्रीको सपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीय मन्त्री बनाइएको थियो ।
भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिने
भन्नेमा निर्णय भईसकेको छैन । गण्डकीमा हाल कायम मन्त्रालयमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथाखेलकुद मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।
तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।