काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनअघि जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूलाई पार्टी कार्यालय बबरमहल बोलाइएको छ । सबै सांसदसँग बिहान ११ बजे छलफल गरिने जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको सचिवालयले जनाएको छ ।
बैठकपछि सांसदहरू सिधै संसद् भवन नयाँ बानेश्वर जानेछन् । प्रतिनिधि सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुँदै छ । जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।