धनगढी । सुदूरपश्चिम प्रदेशमा एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार शनिबार कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको कोरोनाबाट ज्यान गएको हो ।
शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।
अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ। कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार ८५२ पुगेको छ ।