काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन् ।
मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएपछि हिजैदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो ।
हिजो पहिलो दिन ८ जना सांसदले धारणा राखेका थिए । गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि आज छलफल सकिए भोली मतदान हुने संभावना रहेको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा प्रस्तावका विषयमा सांसदहरूले आफ्ना बिचार राखेपछि अन्त्यमा मुख्यमन्त्री गुरुङले आफ्ना भनाइ राखेर मात्रै मतदान प्रक्रिया सुरु हुने कार्यसूची छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ ।