काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक बस्न लागेका हु्न् ।कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।
आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।काठमाडौं जिल्लामा मात्रै हिजो एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् ।
यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।कोरोना जोखिम रहेकोले भीडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको हो ।