Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षीलाई फ्लोर क्रसको डर, सतर्क रहन सर्कुलर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 10.7K
    SHARES

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ वैशाखमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको अविश्वासको प्रस्ताव सोमबार सदनमा टेबल हुँदैछ ।

अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएपछि १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङले संसद अधिवेशन नै अन्त्य गराएका थिए । तर अविश्वासको प्रस्ताव दर्तासँगै तीन दलले विशेष अधिवेशनका लागि  प्रदेश प्रमुखसामू समावेदन दिए ।

मुख्यमन्त्रीको सिफारिसलाई मध्यरातमै सदर गरिदिएका प्रदेश प्रमुख अमिक शेरचनले उसैगरी विशेष अधिवेशन बोलाउने निर्णय पनि गरे । मुख्यमन्त्री पृथ्वीसुब्बा काठमाडौंमै रहेका बेला प्रदेश प्रमुख शेरचनले १३ गतेका लागि विशेष अधिवेशन बोलाइदिए ।

सोमबारदेखि सुरु हुने विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री पोखरेलले बोल्नेछन् ।

त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।

बोल्न चाहने प्रदेशसभा सदस्यहरुको नाम सम्बन्धित दलले दिने भनिएको छ, तर कति जनाले बोल्ने भन्ने एकिन छैन । अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरु कर्णाली  प्रदेशमा जसरी विश्वासको मत लिने प्रस्ताव ३ वैशाखमा पेश भयो र त्यही दिन मतदान भयो, गण्डकीमा पनि त्यसै होस् भन्ने चाहन्छन् ।

तर मतदान हुने दिन लम्ब्याएर अरु सांसदलाई फकाउँदै जाने रणनीतिमा सत्तारुढ दल एमाले छ । ‘अविश्वासको प्रस्ताव टेबुल भएपछि सत्ता पक्षले जति सुकै दिन लब्याउन चाहे पनि ३ दिनभन्दा अगाडि जाँदैन,’ नयाँ सत्ता गठबन्धन गर्ने कांग्रेसका वार्ता समिति संयोजक कुमार खड्काले भने, ‘अविश्वासको प्रस्तावको पक्षमा छिटो मतदान गरेर टुंग्याउन हामी कटिवद्ध छौं ।’

  • फ्लोर क्रसको डर 

कांग्रेस १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

२७ प्रदेशसभा सदस्य भएको एमालेलाई एकमात्र आशा ३ प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चा थियो । जनमोर्चाका सांसदलाई मन्त्री दिएर सरकार जोगाउने अस्त्र मुख्यमन्त्री गुरुङले फ्याँकेका थिए । स्रोतका अनुसार माओवादी केन्द्रले २५ चैतमा दुइ मन्त्रीलाई फिर्ता बोलाएपछि बुटवलमा जनमोर्चाको महाधिवेशन सकेर प्रदेशसभा सदस्य कृष्ण थापा मन्त्री बन्ने गरी पोखरा आएका थिए । तर जनमोर्चाका केन्द्रीय अध्यक्ष केसीले त्यसलाई रोक्नुका साथै अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय पार्टीबाट गराएका छन् ।

नयाँ सरकार गठनको पक्षमा खुलेर लागेकी जनमोर्चाकी प्रदेशसभा सदस्य पियारी थापा पार्टीको नीति नै सर्वेसर्वा हुने भएकाले तलमाथि हुनेमा शंका गर्नु नपर्ने बताउँछन् । अर्का प्रदेशसभा सदस्य खिमविक्रम शाही पनि पियारीको धारणामा सहमत छन् ।

तर थापाले मत नदिने पो हुन् कि भन्ने डर अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरुमा देखिन्छ । किनकी उनी अविश्वासको प्रस्तावको पक्षमा खुलेर लागेका छैनन् र दलहरुले बोलाएको बैठकमा पनि गएका छैनन् । थापाले भने मतदानको बेला पार्टीको निर्णय अनुसार बढ्ने बताए । ‘हामीलाई सरकारमा गएर मन्त्री खानु छैन, कसैलाई टेको लगाएर उभ्याउने रणनीति बनाउनु पनि छैन,’ थापाले भने, ‘मतदानका बेला पार्टी नीतिअनुसार अगाडि बढ्छौं ।’

  • थापा मात्र होइन, माओवादी केन्द्रबाट पनि फ्लोर क्रस हुने डर उनीहरुमा देखिन्छ ।

किनकी माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन् र उनले मत हाल्न नपाउँदा अविश्वासको प्रस्ताव पारित गराउन जनमोर्चाले साथ दिँदा टुपुक्क ३१ मत हुन्छ । एक जनाले मात्र तलमाथि गरे बहुमत पुग्दैन ।

मुख्यमन्त्री पृथ्वीसुब्बाले अविश्वासको प्रस्ताव पास नहुने र आफ्नो पक्षमा सांसदहरुको संख्या पुग्ने दाबी गर्दै आएका छन् । उनले अविश्वासको प्रस्ताव दर्ता गरेर पनि भागवण्डामा पूर्व सहमति खोजिरहेको जसपाको सात खोजेका छन् ।

मुख्यमन्त्रीले लुम्बिनीमा जस्तै सरकारलाई साथ दिन अनुरोध गरेको जसपाका सांसद हरिशरण आचार्यले बताए । ‘प्रतिगमनकाविरुद्ध अग्रपंक्तिमा रहेर विरोध गरेको हामीले साथ दिन सक्दैनौं । अविश्वासको प्रस्तावै जाने हो,’ उनले भने ।

यस्तै मुख्यमन्त्री गुरुङले आफ्ना प्रदेशसभा सदस्यहरुबाट फ्लोर क्रस गराएर सरकार जोगाउने प्रयत्न गरेको माओवादी केन्द्रका नेताहरुको दाबी छ । खासगरी माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलसँग कुनै समय निकट रहेकाहरुलाई तान्ने प्रयास भइरहेको छ ।

गण्डकीमा संसदीय दलका नेता हरिबहादुर चुमान, दीपा रोका र चन्द्रबहादुर बुढा, बादल निकट थिए । रोका र बुढालाई तान्ने प्रयास भइरहेको एमालेका एक प्रदेशसभा सदस्यले बताए । माओवादी केन्द्रका नेताहरुले भने बादल एमालेमा जाँदा नगएका प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस नगर्ने दाबी गरेका छन् ।

उनीहरु माओवादी केन्द्रमा बसेका उनीहरुमा शंका गर्नु नपर्ने माओवादीका नेताहरु बताउँछन् । यद्यपि सम्भावित चलखेलतिर चनाखो हुन सर्कुलर जारी गरिएको नेता चुमानले बताए । ‘अन्तिम प्रहरमा हुनसक्ने चलखेलप्रति सचेत छौं । सबै प्रदेशसभा सदस्यलाई सम्पर्कमा रहन, पोखरा नछाड्न निर्देशन दिएका छौं,’ उनले भने, ‘सत्ता र शक्तिको खेलबारे सजग रहन भनेका छौं ।’

कांग्रेस प्रदेशसभा सदस्य खड्काले पनि अविश्वासको प्रस्ताव फेल गराउन र सरकार टिकाइराख्न सत्ता र शक्तिको प्रयोग हुन सक्नेतिर सचेत रहन भनिएको बताए । ‘कर्णाली र लुम्बिनीमा जस्तै खेल गण्डकी प्रदेशमा पनि हुनसक्ने भन्दै सांसद खड्काले भने, ‘अहिलेको अवस्थामा कांग्रेसबाट क्रस फ्लोर कल्पनाभन्दा पनि बाहिरको कुरा हो । अरु पार्टीका साथीहरु पनि सजग पाएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४