पोखरा, । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।
विशेष अधिवशेनको पहिलो बैठकका लागि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।उक्त बैठकमा पहिलो दिन नै अविश्वासको प्रस्ताव उपर मतदान हुने बारेमा छलफल भए पनि बैठक केही दिन लम्बिने भएको छ ।पहिलो दिन सबै दलका नेताहरुले बोलिसकेपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् ।
भोलिपल्ट पनि छलफल हुने र तेस्रो दिन मतदानमा जाने गरी कार्यसूची तय गर्ने सहमति भएको बैठकमा सहभागी जनमोर्चाका सांसद कृष्ण थापाले बताउनुभयो ।कार्यव्यवस्था परामर्श समितिको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाको बैटक बसेर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमती भएको छ ।
जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पक्का भएपछि गुरुङ सरकार ढल्ने लगभग पक्का भएको छ ।तै पनि सरकार टिकाउनका लागि आन्तरिक खेल भने भइरहेका छन् । अविश्वासको प्रस्तावसँगै ३ दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छन् ।
अविश्वासको प्रस्ताव पारित भएमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन् ।६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् ।कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।