काठमाडौं । मतपत्रमा संकेत नम्बर राखेको भन्दै विवाद भएपछि नेपाल पत्रकार महासंघ, नुवाकोटको नयाँ कार्यसमिति चयनका लागि पुनः मतदान हुने भएको छ ।
बिहीबार बसेको केन्द्रीय निर्वाचन कार्यसमितिको बैठकले नुवाकोटमा पुनः मतदानका लागि एक साताभित्र केन्द्रीय समितिसँग समन्वय गर्न निर्देशन दिने निर्णय गरेको निर्वाचन कार्यसमितिका संयोजक एवं वरिष्ठ पत्रकार कपिल काफ्लेले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।
कार्यसमितिको निर्णयसँगै नुवाकोटमा अब पुनः मतपत्र छापेर मतदान गर्नुपर्नेछ । मनोनयन दर्ता र नाम प्रकाशन सबै ठिक भएकाले त्यो प्रक्रिया नदाहोर्याइ मतदानको काम मात्र दोहार्याएर गर्नुपर्ने संयोजक काफ्लेले बताउनुभयो ।
‘मनोनयन, उम्मेद्वारको नाम प्रकाशनसम्म सबै प्रक्रिया ठिक छ, मतपत्रमा त्रुटी भएकाले दुरुस्त मतपत्र छपाएर जिल्लाको मतदान दोहोर्याएर गर्नुपरयो,’ उहाँले भन्नुभयो, ‘अब एक साताभित्र नयाँ केन्द्रीय समितिसँग समन्वय गरेर पुनः निर्वाचन गर्नुपर्छ, निर्वाचनका लागि केन्द्रबाट प्रतिनिधि पनि पठाउने निर्णय भएको छ ।’
केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश र केन्द्रको मतदान गर्नुपर्दैन, पुनः गर्नुपर्ने मतदान जिल्लाको मात्र हो ।’
नुवाकोटमा भएको महासंघको मतदानमा मतपत्र छपाईमा त्रुटी भएको थियो । मतपत्रमा संकेत नम्बर राखिएको र मतपेटिका दुई रातसम्म पूर्व अध्यक्षको घरमा भएको खबर सार्वजनिक भएपछि केन्द्रीय निर्वाचन समितिले चासो दिएको थियो । विवादपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका केन्द्रमा झिकाएको हो ।