सिरहा । लहानका सुनचाँदी व्यापारीको घरमा डकैती भएकाे छ । लहान नगरपालिका–७ स्थित राजेश सारडाको घरमा डकैती भएको हाे ।
हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन् । प्रतिकार गर्दा दुबैलाई आक्रमण गरी घाइते समेत बनाएका छन् ।
हतियारधारी समूहले लकर फोडेर करोडाैँं मूल्य बराबरको सुनचाँदी लुटेको पीडित परिवारले बताए । उनीहरुले सारडाको जीप समेत लिएर गएका छन्। घरमा पार्किङ गरी राखिएको जिपको साँचो बलजफ्ती लिएर हतियधारी डाका समूह भागेको भगिरथ सारडाले बताए । घरभित्र तीन जना हतियारधारी समूह प्रवेश गरेको उनले बताए । उनीहरु युवा उमेरका नै थिए ।
सुनसहित गाड़ी फेला, लुटेरा फरार
सिरहाको लहानमा सुन व्यापारीको लुटिएको बा १० च ९३०२ नम्बरको कार फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका- १२ बेल्हामा लुटिएकाे सुनसहित गाड़ी फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप भण्डारीका अनुसार लुटिएर भाग्दै गरेको कार सहित सुन फेलाको छ भने लुटेरा फरार रहेकाले खोजीकार्य जारी रहेको बताए ।
पछिल्लाे समय सुनचाँदी व्यवसायी असुरक्षित बनेका छन् । तीन दिनअघि मात्रै राति लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान– २२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको घरमै प्रवेश गरेर गोली हानी हत्या गरेका थिए ।
