कैलाली । नेकपा एमालेका माधव कुमार नेपाल पक्षले सुदूरपश्चिमका सह-संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरेको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत् नेकपा एमालेका निलम्बित सुदूरपश्चिम प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिए ।
नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भएको आरोप लगाउदै पार्टीका सबै जिम्मेवारीबाट हटाई पार्टी सदस्यताबाट १ वर्ष निलम्बन गर्न सिफारिस गरिएको रावलले बताए ।
त्यस्तै नेकपा एमालेका नेपाल पक्षले सुदूरपश्चिमका सबै जिल्लाहरुमा सानान्तर जिल्ला कमिटीहरु समेत गठन गरेको छ । पार्टी अध्यक्ष ओलीले पार्टी भित्रनै राष्ट्रिय महाधिवेशनको मर्ग निर्देशन, पार्टीको विधान र नियमावलीको उल्लंघन गर्दै स्वेच्छाचारी किसिमले नेताहरुलाई जिम्मेवारीबाट हटाएको भन्दै कडा आपत्ति समेत जनाएको छ ।
यस्तै धनगढीमा यहि चैत २३ र २४ गते बसेको नेपाल पक्षको सुदूरपचिम प्रदेशको आठौ बैठकले समानान्तर जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
जस अन्र्तगत कञ्चनपुरको अध्यक्षमा तारा लामा तामा, बाजुरा–गगन बहादुर रावल, बैतडी–महादेव भट्ट, अछाम–शेरबहादुर कुँवर, कैलाली–दिर्घबहादुर सोडारी, डडेल्धुरा–डा.तारा जोशी, डोटी–चक्रबहादुर मल्ल, बझाङ–दीलबहार सिंहलाई जिम्मेवारी दिइएको छ ।