काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘सरकार ढल्छ’ भन्ने चिन्ता नभएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार (आज) काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अहिले नै हटाइहाले पनि कुनै चिन्ता नभएको र अंक गणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्यालिने बताउनुभयो ।
उहाँले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशी मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको उहाले बताउनुभयो ।
उहाँले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताउनुभयो । सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताउदै ओलीले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न आग्रह गर्दै सावधानी नअपनाए लकडाउन गर्नु पर्ने अवस्था आउने धारणा राख्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिनुभयो । साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गर्नुभयो ।