एजेन्सी । अमेरिकाको साउथ क्यारोलाइना राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी पाँचजनाको हत्या गरेका छन् ।
स्थानीय प्रहरीका अनुसार दुई बालबालिकासहित मारिएका पाँचै जना एकै परिवारका सदस्य हुन् । ७० वर्षका डा. रोबर्ट लेस्लीको घरमा प्रवेश गरेका बन्दुकधारीले गोली प्रहार गरि परिवारका ४ सदस्य र एक जना कामदारको हत्या गरेका हुन् ।
नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरूको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला आक्रमणको यो घटना भएको हो ।
उनीहरूको बुधबार बेलुका हत्या भएको अधिकारीले बताएका छन् । हत्या गर्ने व्यक्ति फिलिप एडम्सको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँग भिडन्त हुने देखेपछि एडम्सले आफैँ गोली हानी आत्महत्या गरेका हुन्