Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी क्षेत्रमा पनि वायु प्रदूषण उच्च


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 5.1K
    SHARES

दर्जनौं उद्योग मापदण्डविपरीत सञ्चालनमा


लुम्बिनी कोरिडोरमा रहेको एक सिमेन्ट उद्योग ।

२५ चैत, बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।

लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियमविपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । यो कोरिडोरमा दर्जन बढी सिमेन्ट उद्योगमात्रै सञ्चालनमा छन् भने छड, इँटा, कागज, खाद्य, सिन्थेटिकलगायतका तीन दर्जन बढी ठूला उद्योग छन् । यसबाहेक लुम्बिनी वरिपरि झण्डै तीन दर्जन इँटा उद्योग छन् । यी इँटा उद्योग पनि प्रदूषणको अर्को कारक हुन् ।

विशेषगरी कोइला प्रयोग र इँटाका चिम्नीबाट निस्किने धुवाँको मुस्लोले वायु प्रदूषण बढाइरहेको छ । ती उद्योगले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड ग्याँसका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको हो ।

प्रदूषित वायुमा मिसिएका धातु र सिसाका कणले लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भलगायत महत्वपूर्ण पुरातात्विक सम्पदामा समेत असर पर्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रदूषणले मायादेवी मन्दिर र विभिन्न देशले निर्माण गरेका बौद्ध बिहारहरुमा प्रार्थना र ध्यान गर्ने भक्तजनहरु समेत प्रभावित भएका छन् । लुम्बिनीको बढ्दो प्रदूषणमा त्यहाँका उद्योगबाट निस्कने धुलो-धुँवाको हिस्सा ४८ प्रतिशत, घरायसी प्रयोजन निम्ति बालिने दाउरा, गुइँठाबाट हुने प्रदूषणको हिस्सा ३८ प्रतिशत र बाँकी भारतीय सीमा क्षेत्रका उद्योगबाट उत्सर्जन हुने प्रदूषण रहेको छ ।

लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विगत २५ वर्षदेखिका पुराना र नयाँ उद्योगले वातावरणीय प्रभावलाई कम गर्न पहल गरेको दाबी गरे पनि त्यो व्यवहारमा लागू भएको छैन ।

यहाँका उद्योगका लागि चाहिने अधिकांश कच्चा पदार्थ भारतबाट दैनिक सयौँ गाडीमा ल्याइन्छ । एकातिर तिनै गाडीको धुवाँ र धुलो अनि उद्योगबाट निस्कने धुँवाले पनि लुम्बिनीमा प्रदूषण बढिरहेको छ ।

सिमेन्ट कारखानाको लागि चाहिने चुन तथा खरानी बोक्ने गाडीले धुलो उडाउँदै ल्याउँछन् । स्थानीयका अनुसार उद्योगबाट दिउँसोभन्दा राति कालो धुवाँ निस्कने गरेको छ ।
पहिला ८ घण्टा चल्ने उद्योग दैनिक अहिले १८ घण्टासम्म चल्दा प्रदूषण झन् बढेको छ । प्रदूषणबाट लुम्बिनी घुम्न आउने विदेशी र आन्तरिक पर्यटक संगै स्थानीय बासिन्दा पनि प्रभावित भएका छन् ।

वर्षौंदेखि सञ्चालनमा रहेका यी उद्योगबाट निस्कने धुलो धुवाँले पर्यटक र स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । तर प्रदूषण रोक्न सरोकारवाला निकाय मौन छन् ।

‘हामीले दिनहुँ खानुपर्ने धुलो र धुँवाबारे न स्थानीय सरकार, न प्रदेश सरकार कसैलाई मतलब छैन,’ लुम्बिनीका नागरिक अगुवा बिन्दुकमार चौहान भन्छन्, ‘मान्छेको स्वास्थ्य भन्दा ठूलो विषय अरु त नहुनुपर्ने हो, तर कुनै पनि स्थानीय तहका जनप्रतिनिधिले आजसम्म प्रदूषणको बारेमा बोलेका छैनन् ।’

उद्योगबाट निस्केका धुवाँधुलोले स्थानीय बासिन्दा, बोटबिरुवा, बस्तुभाउमा समस्या त निम्तिएको छ नै उद्योगबाट निस्कने फोहोर सिधै खोला-नालामा मिसिँदा नदी पनि प्रदूषित हुँदै गएका चौहान बताउँछन् ।

लुम्बिनी क्षेत्रमा सोमबार वायु गुणस्तर सूचकांक (एक्यूआई) सरदर १८४ रहेको प्रदेश वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए । प्रदूषणको यो मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाइ छ ।

एकातिर उद्योगको प्रदूषण, अर्कोतिर निर्माणाधीन सडकमा ठेकेदारले पानी नहाल्दा लुम्बिनी आउने पर्यटकमा नकारात्मक असर परेको लुम्बिनी पर्साचोकका होटेल व्यवसायी अक्रम खानले बताए । ‘लुम्बिनीको पर्यटन विकासमा प्रदूषण नै वाधक बनेको छ,’ उनले भने ।

लुम्बिनीको वातावरणलाई स्वच्छ बनाउन र वायु प्रदूषण नियन्त्रण गर्न लुम्बिनी कोरिडोरका उद्योगलाई अन्यत्र सार्नुपर्ने तथा सडकको दायाँबायाँ वृक्षारोपण गरेर हरियाली बनाउनुपर्ने खानको माग छ ।

लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्मा प्रदूषणका कारण पर्यटकले बसाइ छोट्याउने गरेका र यसबाट लुम्बिनीबारे नराम्रो सन्देश गइरहेको गुनासो गर्छन् ।

वातावरण बचाऊ आन्दोलन रुपन्देहीका संस्थापक अग्रज पत्रकार नारायण सापकोटा उद्योगको प्रदूषणसँगै लुम्बिनीमा फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषित बनेको बताए । ‘लुम्बिनीमा तत्काल अत्याधुनिक डम्पिङ्ग साइट बनाएर फोहोर व्यवस्था गर्नुपर्छ,’ सापकोटाले भने ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी क्षेत्रलाई वायु प्रदूषणको असरबाट मुक्त बनाउन स्थानीय सरकार एक्लैले नसक्ने हुँदा संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

लुम्बिनी प्रदेश,उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले लुम्बिनी कोरिडोरका उद्योग स्थानान्तरणका लागि मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

द स्टेट अफ ग्लोबलको रिपोर्टअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०१९ मा १७ हजार ९०० जनाको र सन् २०२० मा ४२ हजार १०० जनाको मृत्यु भएको छ ।

प्रदूषित पानीका कारणभन्दा वायु प्रदूषणका कारण मानिसको मृत्यु हुने दर धेरै रहेकाले यसलाई सामान्य समस्यामा रुपमा लिनु नहुने वातावरणविद् चौधरीको सुझाव छ ।

वायु प्रदूषण उच्च हुने मुलुकमध्ये नेपाल दशौं स्थानमा रहेको उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रदूषित पानीबाट भन्दा प्रदूषित वायुबाट मृत्यु हुनेको संख्या विश्वमै धेरै छ,’ चौधरीले भने, ‘यसको असर विस्तारै देखिन्छ जुन घातक हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४