काठमाडौं। वैदेशिक रोजगार विभागले कतार प्रहरीको रुपमा काम गर्न लैजाने भनेर प्रलोभन देखाएको अवस्थामा त्यसबाट बच्न अनुरोध गरेको छ । सोमबार विभाग सूचना जारी गर्दै अहिलेसम्म कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएकोले सम्भावित ठगी हुनबाट बच्न अनुरोध गरेको हो ।
विभागले जारी गरेको सूचनामा उल्लेख छ, ‘वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।’
कतारमा प्रहरीका लागि श्रमिक पठाउने कार्य बन्द रहेपनि विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रलोभनमा पारी राहदानीलगायत कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने, र रकम माग्नेलगायत अवैधानिक कार्यहरु भइरहेकाले त्यसबाट बच्न विभागको अनुरोध छ ।
साथै, वैदेशिक रोजगारीमा जाँदा कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ, कुन कुन इजाजतपत्रवाला संस्थाले विभागवाट पूर्वस्वीकृति प्राप्त गरेका छन्, तथा अन्तरवार्ता मिति तथा स्थान समेतको विस्तृत विवरण विभागको वेबसाइटमार्फत हेरेर यकिन गर्न सकिने विभागले सूचनामा भनेको छ ।