नेकपा एमालेको खनाल-नेपाल समूहले संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाएको छ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको हो।
मंगलबार स्थायी कमिटी सदस्यको बैठकपछि एउटा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आरोप लगाएको हो।
ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै नेता भिम रावलले विधान विपरित आयोजक कमिटी बनाएकाले आफूहरू पनि सबै क्षेत्रमा समानान्तर कमिटि बनाउने जानकारी दिए।
‘पार्टीको विधान विपरित समानान्तर कमिटी गठन भएको छ। केन्द्रीय कमिटीको विघटन र आयोजक कमिटी गठन अवैधानिक छ,’ उनले भने, ‘अब हामी वडा तहसम्मै कमिटी बनाउँछौ। विगतका केन्द्रीय कमिटी, जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’
आजको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्।’
माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका हुन्। विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।
विधि र प्रक्रियागत ढंगले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन गरेको आग्रहविपरीत ओलीले स्वेच्छाचारी कदम चालेको उनको आरोप थियो ।
यस्तो छ वक्तव्य


