चितवन – लामो समयसम्म वर्षा नहुँदा चितवनको वातावरण अस्वस्थ बनेको छ । यहाँको वातावरण ‘रेड जोन’मा परेको छ । सवारी साधनबाट निस्किने धुँवा र वन जंगलमा लागेको डढेलोका कारण यहाँको वातावरण अस्वस्थ्य बनेको वातावरण विभागले बताएको हो ।
शुक्रबार चितवनको वायु गुणस्तर सूचकांक (एक्युआइ) १९६ नाघेको छ । पुराना गाडीबाट निस्किने धुँवा र डढेलोका कारण प्रदूषण बढिरहेको विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताएका छन् ।
‘लामो समय पानी नपर्दा वायु प्रदुषण बढेको छ। विना काम घरबाहिर ननिस्कन हामी आग्रह गर्छौं’, उनले भने, ‘निस्किनै परे पटक–पटक सफा पानीले मुख धुने गर्नुपर्छ।’ ० देखि ५० सम्मको एक्युआईलाई स्वस्थ वातावरणका रुपमा लिइन्छ भने २०१ देखि ३०० सम्मको एक्युआईलाई अति अस्वस्थ वातावरणका रुपमा लिइने विभागले जानकारी दिएको छ ।
अत्यधिक वायु प्रदूषणका कारण शुक्रबार भरतपुर विमानस्थलका सबै हवाई उडानहरु अवरुद्ध भएका छन्। कम्तीमा २५ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा प्रदूषणका कारण जम्मा १२ सय मिटर भिजिबिलिटी भएको विमानस्थलका सूचना अधिकारी अरुण आचार्यले बताए।
‘शुक्रबार पनि १२ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडानहरु हुन सकेनन्’, उनले भने, ‘शुक्रबार काठमाडौँमा पनि उडानहरु प्रभावित भए। पर्याप्त भिजिबिलिटी नहुँदा सेवाग्राहीहरु त्यसै फर्किनुपयो।’