काठमाडौं । भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन् ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याइएको हो ।झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने बताइएको छ ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम हिजो छुटेका हुन् ।शारीरिक र मानसिक रुपमा कमजोर दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।
अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।
इलामबाट दुर्गाप्रसाद १९ वर्षको हुंदा काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेपछि उनी विभिन्न जेलमा सारिए ।सन् १९८२ मा उनी अदालती सुनुवाइका लागि मानसिक रुपमा स्वस्थ नभएको जिल्ला अदालत दार्जिलिङले भनेको थियो ।
त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।कोलकाताको दमदम कारागारमा राधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए ।गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।