नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.सं १९६८ देखि सुरु भएको थियो । प्रत्येक १०–१० मा जनगणना गर्ने गरिन्छ ।
मुगुामा जनगणना २०७८ का लागि १ सय १० जना जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक १८ जना र गणक ८० जना सदरमुकाम गमगढीमा रहेको कार्यालयमा ६ जना, सोरु र खत्याड शाखा कार्यालयमा ३–३ जना कर्मचारी रहने तथ्यांक कार्यालय मुगुका प्रमुख कृष्ण प्रसाद चौलागाईले जानकारी दिए ।
गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकहरूले २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरूले जेठ २५ गतेदेखि असार ८ गते सम्म गणना गरिने भएको छ ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने भएको छ । यसका लागि अनलाइन मार्फत फर्म भर्न सकिने छ । अनलाइन बाट फर्म भरेकाबाट छनोट गरिने भएको छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।