रुपन्देही, / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि सांसद खरिदविक्रीको खेल सुरु भएको जनाउनुभएको छ ।
उहाँले सांसद खरिदविक्री गरेर अपवित्र गठबन्धनको सरकार बनाउनुभन्दा ताजा जनादेश नै उत्तम विकल्प भएको बताउनुभयो ।
पार्टी जिल्ला कमिटी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले सर्वोच्चको फैसलापछि सांसद किनचेब गरेर अपवित्र गठबन्धन गर्ने वा संविधानको धारा ७६ (७) अनुसार सरकार बन्न नसकेको अवस्था चुनावमा जाने दुई विकल्प मात्रै रहेको बताउनुभयो ।
उहाँले अपवित्र गठबन्धनले पजातन्त्रलाई कमजोर बनाउने हुँदा यस्ता गतिविधिबाट मुक्त हुनु पर्ने जनाउनुभयो ।
अहिलेको निर्णायक शक्ति भनेकै नेपाली काँग्रेस भएकाले गठबन्धन गरेर काँग्रेस सरकारमा जाने/नजाने वा चुनावतर्फ जाने भन्ने उसको कोर्टमा बल भएको थापाले बताउनुभयो । जनताले काँग्रेसलाई अहिले नै सरकारमा जाउ भनेर मत नदिएकाले सरकारमा नजान उहाँले सुझाव पनि दिनुभयो ।
अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान बनेयता नै त्यसको आलोचनात्मक समर्थन गरेको तर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा केही असहमति भएको जनाउनुभयो ।
सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति स्वागतयोग्य भएको बताउँदै थापाले विप्लवले हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आए पनि हतियार तत्काल बुझाउनु पर्ने आफ्नो पार्टीको धारणा भएको जनाउनुभयो । ०००