Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिक्लाजुङ गाउँपालिकाले दियाे १२५ कृषकलाई लाख-लाख पुरस्कार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 6.9K
    SHARES

पाँचथर,/  यहाँको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तीमा २० फिट लम्बाइ र चार फिट चौडाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई उक्त पुरस्कार प्रदान गरेको हो । कृषक प्रोत्साहन कार्यविधिअनुसार यतिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने व्यवस्था थियो । कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् । मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् । यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताउनुभयो ।

कोभिड–१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कार दिने नीति लिएको थियो । गत वैशाख अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए । एकै परिवारले भाडा वा अन्य शर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरे पनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकलाई हौस्याएको थियो । गाउँपालिकाले ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णयसमेत गरेको थियो । उक्त मापदण्डानुसारका दाबीको गाउँपालिकाको अनुगमन समितिले अनुगमन गरिरहेको बताइएको छ ।

वास्तविक उत्पादकले मात्रै पुरस्कार प्राप्त गर्ने व्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक सम्मिलित अनुगमन टोली निर्माण गरेको थियो । नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक वर्ष कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकलाई दोहोरो फाइदा भएको छ । पुरस्कार प्राप्त गर्न कृषक उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरुका परिवारलाई वर्षभरि खान पुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले रु एक लाख रकम प्राप्त गरेका छन् । एकैपटक रु एक करोड २५ लाख कृषकका हातमा पुगेको छ । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइको समेत राम्रो व्यवस्था छ तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४