उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर छ । उनीहरुको टाउको, खुट्टा, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । प्रहरीका अनुसार भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । उनको छातीमा भाला पनि प्रहार भएको प्रहरीले जनाएको छ ।
भागीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईको विवाह शुक्रबार राति आयोजना गरिएको थियो । विवाह सकिएपछि आफन्त सुतेको समयमा आएको समूहले आक्रमणपछि लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । आफन्तले लुटपाट भएको बताएपनि प्रहरीमा भने लुटपाटको जानकारी नआएको उनले बताए । बेहुला, बेहुली र अन्य पाहुनाले भागेर ज्यान जोगाएका थिए ।
नाच्न नपाउँदा झगडा, बरण्डाबाट चढेर आक्रमण
प्रहरीका अनुसार शुक्रबार रातिको वैवाहिक कार्यक्रममा करिब १० बजेतिर मादक पदार्थ सेवन गरी विवाह घरमा पुगेको एक समूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने भन्दै विवाद गरेको थियो ।
विवाहघरमा रहेकाले सम्झाएपछि गएको समूह पुनः फर्केर आएर होहल्ला गर्याे। आक्रमण गर्ने शैलीमा आएपछि आफन्तले प्रहरीलाई खबर गरे । राति करिब १ बजे स्थानीयले उजुरी गरेपछि प्रहरी पुग्यो । प्रहरीलाई देखेपछि भागेको समूह प्रहरी फर्किएपछि पुनः घरमा आएर आक्रमण गरेको हो । तर प्रहरी फर्किएको केहीबेरमा आएको उक्त समूहले बरण्डाबाट घरमा चढेर अन्धाधुन्ध आक्रमण गरेको थियो ।
घरको पछाडिबाट बरण्डामा चढेका उनीहरुले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई ओछ्यानमै पुगेर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि बिहेघरमा भागदौड मच्चिएको थियो ।
विवाहमा बेहुलीको नाममा टिका लगाएर जम्मा भएको दुई लाख ३५ हजार पाँच सय रुपैयाँ नगद र सुनचाँदीका गरगहना लुटपाट गरेर समूह भागेको आफन्तले बताएका छन् । प्रहरी स्रोतका अनुसार आक्रमण गर्ने सबै केराबारीकै हुन् । आक्रमण र लुटपाटमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
लुटपाट गरी फरार भएको समूहको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक खड्काले बताए ।