Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘म्युजिक अवार्ड’को अनौठो खेती “सम्मान कि धन्दा ? किन हुन्छन् अवार्ड ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 4.5K
    SHARES

‘म्युजिक अवार्ड’को अनौठो खेती “सम्मान कि धन्दा ? किन हुन्छन् अवार्ड ? दिनमा कति गीत रेकर्ड हुन्छन् ? कति म्युजिक भिडियो बन्छन् ? यसको ठ्याक्कै लेखाजोखा छैन । तर, यिनै गीत-संगीतलाई टेको बनाएर ‘म्युजिक अवार्ड’ चाहिँ हप्तै जसो हुन थालेका छन् । ‘अवार्ड’को यो होडबाजीले संगीतवृत्तलाई यसरी गोलचक्करमा घुमाइरहेको छ, मानौं अवार्ड नथाप्ने गीतकार/गायक/संगीतकार तथा मोडल नै होइनन् ।

तात्तातो उदाहरण हो, नाट्येश्वर म्युुजिक अवार्ड, नेसनल ब्रान्ड म्युजिक अवार्ड । यी ‘अवार्ड’ समारोह करिब साता दिनको फरकमा वितरण गरिएको हो । त्यसअघि नेसनल क्यापिटल अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड, नेसनल पावरन्युज म्युजिक अवार्ड, छायाँछवि तीज म्युजिक अवार्ड भए । तन्काउँदै जाने हो भने यो सूची अरू लामो बन्न सक्छ । किनभने, लकडाउनपछि मात्र अरू थुप्रै फिल्म अवार्ड भए, जसमा ‘संगीत विधा’ स्वतः समाहित हुने नै भयो ।

यो सिलसिला यत्तिमै टुङ्गिगएको छैन । अबका दिनहरूमा पनि एकपछि अर्को म्युजिक अवार्डको हानथाप हुँदैछ । आउँदो चैत्रमा मात्र तीनवटा ‘म्युजिक अवार्ड’को हुँदैछ । ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७’ चैतमा आयोजना हुने आयोजकले उद्घोष गरिसकेका छन् । विन्ध्यवासिनीको यो एघारौं संस्करण हो।

सोही महिना अर्को म्युजिक अवार्ड हुने जनाइएको छ । यसको शीर्षक जुराइएको छ, नेपाल बेस्ट म्युजिक अवार्ड । यो अवार्ड यसैपालिदेखि सुरु गर्न लागिएको आयोजकको भनाइ छ । यसका लागि आवेदन फर्म खुला गरिएको आयोजकले जनाएको छ । चैतमा नै ‘नेसनल पावर न्युज म्युजिक अवार्ड’को तेस्रो संस्करण गर्ने आयोजकको तयारी छ ।

दोस्रो संस्करणको ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’को सर्वोत्कृष्ट ५ नोमिनेसन सार्वजनिक गरिएको छ । नोमिनेसनमा परेका कलाकारहरूले आफूलाई जिताउन फेसबुक वालमा भोट मागिरहेका देखिन्छन् । यो कार्यक्रम हुने मिति भने तोकिएको छैन ।

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’को पनि तयारी सुरु गरिएको छ । ‘म्युजिक खबर म्युजिक अवार्ड’ आगामी वैशाखमा आयोजना गर्नेका लागि आयोजकले तारतम्या मिलाइरहेका छन् । यो होडबाजीमा अरूले पनि हानथाप गरिरहेका छन् ।

सम्मान कि धन्दा ?

‘१५ हजार दिने भए अवार्ड पाउनुहुन्छ ।’ हालै एक ‘म्युजिक अवार्ड’का आयोजकले गायकसँग यसरी नै मोलमोलाइ गरे । ती गायक दुःखेसो गर्छन्, ‘हामी जस्ता नयाँ गायकलाई अवार्डको लोभ देखाएर भित्रभित्रै पैसा असुल्ने काम हुदोरहेछ ।’

‘अवार्ड’को आवरणमा पैसा असुल्नेदेखि विदेश सयर गराउनेसम्मको धन्दा हुने गरेको भुक्तभोगीहरू सुनाउँछन् । विगत ९ वर्षदेखि म्युजिक अवार्ड गर्दै आएका सुमन बैरागी पनि यो कुरा स्वीकार्छन् । उनका अनुसार अवार्ड विदेश जानका लागि एउटा ‘डकुमेन्ट’ बनिरहेका छन् । विदेश यात्रा गर्न, ग्रीनकार्ड लिनका लागि यो माध्यम अपनाउन थालिएको बैरागीको भनाइ छ ।

‘हामीले सुरु गर्दा यस्तो थिएन’ उनी भन्छन्, ‘अहिले अवार्डहरू पैसामा बिकिरहेका छन् ।’ खास गरी गीत/संगीतमा ठोस प्रगति गर्न नसकिरहेका वा संघर्षरतहरू यस्तो मोहजालमा पर्ने गरेका छन् । अवार्ड पाएपछि आफूलाई स्थापित गायक/संगीतकार भन्न पाइने लोभमा उनीहरू खल्ती रित्याउन तयार हुन्छन् ।

यस्तो पृष्ठभूमिमा सही र सन्तुलित ढंगले अवार्ड वितरण गरिरहेका संस्थाहरू समेत बदनाम हुने भय रहेको बैरागी बताउँछन् ।

रंग पत्रकार शान्तिप्रिय पनि अहिले अवार्ड वितरणको मेलोमेसो मिलाइरहेका छन् । उनले ‘छायाछवि तीज म्युजिक अवार्ड’ गर्दै आएका छन् । यद्यपि उनी पनि अहिले भइरहेका अवार्ड कार्यक्रमको विश्वसनीयतामाथि संशय गर्छन् । उनी भन्छन्, ‘ग्रीनकार्ड लिनकै लागि अवार्डले सहयोग गर्ने भएर अवार्ड कार्यक्रमको होडबाजी चलिरहेको जस्तो लाग्छ ।’

अवार्ड वितरण गर्ने यस्तो होडबाजी किन चलिरहेको छ भन्ने कुरा ठ्याक्कै भन्न नसकिने शान्तिपि्रय बताउँछन् । उनी भन्छन्, ‘नियमित गरिरहेका अवार्डहरूलाई पछिल्लो समयका केही अवार्डहरूले गाह्रो बनाइरहेको छ ।’

मोडल विमल अधिकारी पछिल्लो समय केही अवार्डहरू कमाउ धन्दामा लागेसँगै यसको पहिलेजस्तो गरिमा नरहेको बताउँछिन् । उनको भनाइ छ, ‘अहिले त यस्तो भैदियो, असली कलाकारले अवार्ड पाउँदा पनि पैसा तिरेर पाएको हो कि भन्ने बजारमा पर्छ ।’

अनेक नाममा हुने यस्ता अवार्डहरू ‘बरमाझियाको पेडाझंै कुन असली हो भनेर छुट्याउन गाह्रो भएको’ कतिपय स्रष्टाको भनाइ छ । हप्तैपिच्छे हुने अवार्ड समारोहको औचित्य र विश्वसनीयतामाथि प्रश्न उठाउनुपर्ने बेला आइसकेको उनीहरू बताउँछन् ।

‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ आयोजक संस्थाका सुवास रेग्मी ‘संस्थाले कसरी अवार्ड गर्छ’ भन्नेमा भर पर्ने बताउँछन् । यद्यपि अवार्ड कार्यक्रमहरू धेरै हुँदा यसको साख भने घटेको रेग्मीले पनि महसुस गरेका छन् ।

गायक प्रमोद खरेल भन्छन्, ‘एउटा अवार्ड पाउँदा १० वटा काम गर्ने हौसला मिलिरहेको हुन्छ भने त्यो राम्रो हो । तर, अवार्डको गरिमाचाहिँ हुनुपर्छ । विश्वसनीय हुनुपर्छ ।’

‘अवार्ड ऊर्जा हो, तर विश्वसनीय हुनुपर्छ’

पुरस्कार वा अवार्ड आफ्नो लागि ऊर्जा भएको सांगीतिक क्षेत्रका कलाकारहरू बताउँछन् । तर, ती पुरस्कार वा अवार्डहरू निष्पक्ष र विश्वसनीय हुनुपर्छ ।

हालै सम्पन्न ‘नेसनल ब्राण्ड म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट सुगम संगीत गीतकारको अवार्ड पाएका गीतकार कस्तुप पन्त भन्छन्, -‘पुरस्कार वा कुनै अवार्ड पाउनु जुनसुकै कलाकारका लागि पनि खुसीको कुरा हो । पुरस्कार वा अवार्डले ऊर्जा मिलिरहेको हुन्छ । अझ राम्रो काम गर्नका लागि हौसला दिइरहेको हुन्छ ।’

कस्तुप अगाडि थप्छन्’ ‘तर ती सम्मान वा अवार्ड कार्यक्रम के उद्देश्यले गरिन्छन् भन्नेमा भरपर्छ ।’

उनी सम्मान वा अवार्ड कार्यक्रमको गरिमा बचाउनुपर्ने बताउँछन् । पछिल्लो समय म्युजिक क्षेत्रमा ‘अवार्ड’ कार्यक्रमहरू धेरै हुँदा महत्व भने घटेको कस्तुपको बुझाइ छ ।

त्यस्तै ‘नेसनल ब्राण्ड म्युजिक अवार्ड २०७७’मै सर्वोत्कृष्ट लोकदोहोरी मोडलको अवार्ड पाएका विमल अधिकारी पनि आफ्नो कामको मूल्यांकन हुँदै सम्मानित हुनु खुसीको कुरा रहेको बताउँछन् ।

‘अवार्ड पाउनु एउटा कलाकारका लागि हौसला हो । त्यसले योभन्दा राम्रो काम गरेर देखाउँछु भन्ने हौसला बढाउँछ’ उनले भने ।

किन हुन्छन् अवार्ड ?

‘विन्ध्यवासिनी म्युजिक अवार्ड’सञ्चालन गर्दै आएको विन्ध्यवासिनी फाउण्डेसनका सञ्चालक सुवास रेग्मी कलाकारहरूको सम्मानस्वरूप ११ वर्षअघि अवार्ड कार्यक्रमको सुरुआत गरिएको बताए ।

विभिन्न सञ्चार संस्थाहरूले कलाकारलाई सम्मान गरिरहेको सो समयमा संगीत व्यवसायीहरूले स्रष्टालाई सम्मान गर्न आफूहरूले नै सुरुआत गरेको सुवासको दाबी छ ।

‘हामीले स्रष्टाहरूको गीत बिक्रीवितरण गरेर पैसा कमाएपछि उहाँहरूलाई पनि सम्मान गर्नुपर्छ भन्ने सोचले फाउण्डेसन स्थापना गरेर अवार्ड कार्यक्रमको सुुरुवात गरेका हौं’ सुवास भन्छन् -‘अवार्डले स्रष्टाहरूलाई थप ऊर्जा दिन्छ । उहाँहरू कलाकारिताप्रति थप जिम्मेवार भएर लाग्नुहुन्छ भन्ने सोचले अवार्डको सुरुआत गरेका हौं । हाम्रो अवार्ड कलाकारहरूप्रतिको सम्मान नै हो ।’

‘नेसनल क्यापिटल अवार्ड’आयोजक संस्थाका माधव निर्दोष सांगीतिक क्षेत्रको संरक्षण गर्ने र कलाकारहरूको प्रोत्साहनका निम्ति सात वर्षदेखि अवार्ड कार्यक्रम गर्दै आएको बताउँछन् ।

‘यसले नयाँ लाग्ने व्यक्तिलाई ऊर्जा मिलेको हुन्छ । पुराना कतिपय कलाकारहरूले लामो समय सांगीतिक क्षेत्रमा समर्पित हुँदा पनि सम्मान नपाइरहेको अवस्था पनि हुन्छ’ माधव भन्छन् ‘अवार्ड कार्यक्रमले उहाँहरूलाई सम्मान मिलिरहेको हुन्छ । सांगीतिक क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि अवार्ड कार्यक्रमले राम्रै गर्छजस्तो लाग्छ ।’

गत वर्षदेखि सुरु ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’ आयोजक संस्था सामना क्रियसनकी सामना शाह पनि अग्रज कलाकारहरूलाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अवार्ड कार्यक्रम सुरुआत गरिएको बताउँछिन् ।

अवार्डका लागि कहिल्यै फर्म भर्दिनँ : प्रमोद खरेल

अहिले म्युजिक अवार्ड कार्यक्रमहरू धेरै भइरहेका छन् । त्यतिधेरै अवार्ड कार्यक्रम आवश्यक/अनावश्यकभन्दा पनि अवार्ड हुनु मलाई नराम्रो लाग्दैन ।

अवार्ड कार्यक्रम आयोजना गर्नु, कसैलाई हौसला प्रदान गर्नु, काममा प्रोत्साहित गर्नु राम्रो हो । ‘अवार्ड’ भन्ने शब्द नै आफैँमा राम्रो हो ।

‘अवार्ड’ले कलाकारहरूलाई सकारात्मक ऊर्जा भर्छ । एउटा अवार्ड पाउँदा १० वटा काम गर्न हौसला मिलिरहेको हुन्छ भने त्यो राम्रो हो । तर, अवार्डको गरिमाचाहिँ हुनुपर्छ । विश्वसनीय हुनुपर्छ ।

अवार्डमा कसैले मलाई सम्झेर बोलाउनुभयो भने सहभागी हुन्छु । तर, म कहिल्यै पनि अवार्ड पाउका लागि फर्म भर्दिनँ । कसैले मैले गरेको कामको मूल्यांकन गरेर अवार्ड दिनुभयो भने लिन्छु ।

अवार्ड नै नपाउने भए पनि अवार्ड आयोजकले बोलाएको कार्यक्रममा उपस्थित हुन्छु । त्यहाँ ‘पर्फम’ पनि गरिरहेको हुन्छु । कसैले मलाई सम्झेर बोलाउनुहुन्छ भने त्यहाँ पुग्नु मेरो दायित्व सम्झन्छु ।

राज्यले नजर लगाउनुपर्छ : गीतकार डा. कृष्णहरि बराल

चलचित्र होस् वा गीतसंगीत विधा, अवार्ड हुनु नराम्रो कुरा होइन् । तर, अवार्डलाई व्यवस्थित गर्नुचाहिँ मुख्य कुरा हो । सही व्यक्तिलाई वा सहि मूल्यांकनले अवार्ड दिइयो भने त्यस्तो अवार्डले अर्थ राख्छ । तर, गलत व्यक्तिलाई अवार्ड दिइयो भने त्यो एकदमै खराब हो ।

कतिपय अवार्डहरू अलि वस्तुपरक ढंगले मूल्यांकन गरेर राखिएका पनि छन् । कतिपय अवार्डका विभिन्न आलोचनाहरू म पनि सुनिरहेको हुन्छु ।

तर, मैले विभिन्न अवार्डहरूमा देखेको सबैभन्दा ठूलो समस्या भनेको सबै गीतहरू सम्बन्धित अवार्डका लागि दर्ता नहुनु हो ।

दर्ता नगरिदिँदा वा नहुँदा एकदमै राम्रो गीत, त्यसका रचनाकार, संगीतकार, गायक/गायिका तथा मोडलहरू छुट्नुहुन्छ । तर, बाहिरबाट यो राम्रो हो, अर्कोलाई दिएछ भन्ने हुन्छ यो आयोजकका लागि एउटा समस्या हो । सबै अवार्डमा सम्बन्धित सबैलाई समेट्न सक्ने खालको हुनुपर्छ ।

त्यसैले दर्ता प्रक्रिया हुनुहुँदैन । जबसम्म अवार्डमा गएर दर्ता गर्नुपर्ने, पैसा तिर्नुपर्ने कुराहरू रहन्छ । अवार्ड दिने संस्थाले बजारमा कस्ता-कस्ता गीत आएका छन् ? समग्र बुझेर मूल्यांकन गर्ने काम हुँदैन अवार्डको महत्व रहँदैन ।

अर्को कुरा, अवार्ड के उद्देश्यले गरिएको हो त्यो महत्वपूर्ण कुरा हो । अवार्ड अवार्डका लागि हो कि कलाकारहरुको प्रमोसनका लागि हो त्यो मुख्य कुरा हो । म्युजिक अवार्ड कलाको अभिवृद्धि, गीतसंगीतको अभिवृद्धि गर्ने उद्देश्यले हो भने त्यो राम्रो भयो । तर, त्यो नभएर अन्य प्रयोजनको लागि, व्यापारको लागि हो भने त्यो राम्रो होइन ।

अवार्ड कार्यक्रमलाई राज्यले पनि नजर लगाउनुपर्छ जस्तो लाग्छ । आयोजकको उद्देश्य के हो ? आर्थिक हैसियत के हो ? उनीहरूले अवार्ड आयोजना गर्न सक्छन् कि सक्दैनन् ? अन्यबाट मागेर चलाउने हो भने समस्या त्यहीँ भयो । सहयोग मागेपछि उनीहरूले भनेअनुसारकालाई अवार्ड दिनुपर्ने होला ! त्यसकारण राज्यले एउटा ‘क्राइटेरिया’ पूरा भएपछि मात्र अवार्ड कार्यक्रम गर्न सकिने बनाइदियो भने राम्रो हुन्थ्यो ।


म्युजिक अवार्ड


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४