काठमाडाैँ, / अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि प्रतिनिधि सभा विघटनविरूद्धकाे मुद्दामा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ ।
गत मंगलबारबाट शुरु भएको एमिकस क्युरीको बहसको पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र दोस्रो दिन बुधवार वरिष्ठ अधिवक्ताहरु सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । हिजो भएको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो ।
अधिवक्ता खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क बलियाेसँग प्रस्तुत गरेका थिए । तर मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको भन्ने फितलाे तर्क प्रस्तुत गरेका थिए । उनलाइ इजलासबाट न्यायाधीशहरूले अनेक प्रश्न साेधेका थिए ।
अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता संग्रौला रहेका छन् ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस जारी छ ।