काठमाडौं, २३ माघ । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुग्नुभएको छ ।
शुक्रबार बिहान नेकपाको प्रचण्ड–माधव समूहका नेता एवं विघटित प्रतिनिधि सभाका सदस्य शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायत सहित सर्वोच्च अदालत पुग्नुभएको हो । उनीहरुको रिट दर्ताको प्रक्रियामा छ ।
सभामुख सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न निकायमा गरेको नियुक्त गैरकानूनी भएको र नियुक्तिको बदर गर्न माग गर्नुभएको छ । उहाँले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गर्नुभएको छ ।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो ।
३० मंसिरमा बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले त्यही साँझ बोलाएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभाागी भएका थिए भने सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गर्नुभएकाे थियाे ।