काठमाडौँ,/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज नारायणहिटी राजदरबार अगाडि जनसभा आयोजना गर्दै छ।
उक्त जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने उनले बताइएको छ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता एवं संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ यस समूहले जनसभा गर्न लागेको हो । नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आम जनसमुदायमा पार्टीको सन्देश दिन सभा आयोजना गरेको बताए ।
उनले सभा आयोजना एवं परिचालन गर्न पार्टीका काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी पनि गठन गरिएको जानकारी दिए ।
सभाकाे पूर्व तयारी सबै सकिएकाे बताइएकाे छ । सभाबारे प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास समेत गरेको थियो ।
यसअघि प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार काठमाडाैँमा मोटरसाइकल र्याली निकालिएको थियो ।
आजकाे जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्याली निकालिने जनाइएकाे छ ।
