काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा.डा. विवेक बराल र महासचिव डा. विकास अधिकारीले संयुक्त विज्ञप्ति निकालेर उनीहरुलाई कुन मापदण्डअनुसार सिफारिस गरियो भन्ने कुरा सार्वजनिक रुपमै प्रष्ट पारिदिन सिफारिस समितिसँग माग गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘सार्वजनिक रुपमा आवेदन माग भएपछि ४० भन्दा बढी उम्मेदवारहरुले आवेदन दिएको र तीमध्ये सिफारिस गरिएका नामहरु के कति कारणले कुन मापदण्डअनुसार सिफारिस गरिए भन्ने सार्वजनिक चासोको विषय भएकाले सार्वजनिक रुपमै प्रष्ट पारिदिन सिफारिस समिति समक्ष जोडदार माग गर्दछौं ।’
प्राध्यापकहरुले दुई वर्षे कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुनः नियुक्तिका लागि सिफारिस गरिएकोमा विरोध जनाउँदै सिफारिस समितिसँग साँठगाँठको आशंकासमेत गरेका छन् ।
पटक–पटक आर्थिक, नीतिगत लगायत अन्य अनियमितता र विवादहरुमा परेका र दुई वा दुईभन्दा बढी कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुनः सिफारिस गरिनुमा संलग्न व्यक्तिहरुबीच अनैतिक साँठगाँठ रहेको भन्ने आशंका पैदा हुन्छ । यसो गरिनु सुशासन, लोकतान्त्रिक विधि, पद्धति र मूल्यमान्यता विपरीत पनि रहेको छ ।’
