शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’लाई प्रदर्शकहरुले ५५ प्रतिशत शेयर दिने भएका छन् । यसअघि रिलिज भएका चलचित्रका निर्माताले सिंगल हलबाट ५० प्रतिशत शेयर पाउँदै आएका थिए ।
तर, मल्टिप्लेक्स हलको हकमा भने निर्माताले पहिलो हप्ता ५०, दोश्रो हप्ता ४५, तेश्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउँदै आएका थिए । तर, शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘एउटा यसतो प्रेम कहानी’लाई भने सिंगल र मल्टिप्लेक्स हलले ५५ प्रतिशत शेयर दिने भएका छन् ।
चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले अनलाइनखबरसँग भने–‘यो चलचित्र संघको कार्यसमिती बसेर नीतिगत रुपमा गरेको निर्णय भने होइन । तर, कोरोनाका कारण थला परेको चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि नायक शिव श्रेष्ठ र उहाँको टिमले जोखिम मोल्न तयार भएकाले हामी प्रदर्शकले पनि केही सहयोग गर्नुपर्छ भनेर यो निर्णय गरेका हौं । यो, हामीविचमा नै भएको सहमती हो ।’
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्र सेन्सर पास भएको छ । सोमबार चलचित्रको सेन्सर भएको हो । चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष भन्दा तलका बालबालिकाले अभिभावको साथमा हल जानुपर्नेछ ।
यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । दिनेश दर्शनधारी र यशोधा राइ यो चलचित्रका निर्माता हुन् ।
