काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका को निन्दा गरेको छ ।
विद्यार्थीहरु माथिको दमनमा संलग्नहरुलाई कानुनी कारबाही नभए विद्यार्थीहरु आफैं कारबाही गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्याको पवित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपति समक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरु माथि यस प्रकारको बर्बर दमन हुनु जति निन्दनीय छ, त्यति नै लज्जाजनक पनि छ ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘राजनैतिक अभिष्ट पूरा गर्न प्राज्ञिक पदहरु हत्याउने अनि विश्व विद्यालयको शैक्षिक उन्नयनका लागि भन्दा शासक बनी विद्यार्थीलाई तर्साउने एवं विश्वविद्यालयलाई भर्ति केन्द्र र कमाउ अखडा बनाउन लागि पर्ने पात्रहरू विश्वविद्यालयका निम्ति मात्र हैन, समाजकै निम्ति कलंक हुन् । यस्ता पात्रको बहिर्गन अवश्यम्भावी छ ।’
नेविसंघले उक्त घटनामा गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका मध्यपश्चिम विश्वविद्यालय स्ववियु सदस्य तथा विद्यार्थी नेता रोशन बस्नेत लगायत नेवि संघका नेताहरु तर्कराज शाही, लक्ष्मण बोगटी, राजन केसी, विवेक खड्का एवं न्युटन वलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
