काठमाडौं । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् ।
मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै विच्याटपे बाट हुने कारोबारमा बन्देज लाग्नेछ ।
चिनियाँ एपहरुविरुद्ध ट्रम्पले यसअघि जारी गरेका प्रतिबन्धात्मक आदेशहरु कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पछिल्लो आदेश समेत कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ । यसअघि विच्याटमाथि ट्रम्प प्रशासनले लगाउन थालेको प्रतिबन्धलाई अदालतले रोक लगाएको थियो भने अदालतले आदेशपछि टिकटकमाथिको प्रतिबन्ध पनि लागू हुन सकेको छैन ।
ट्रम्पले मंगलबार जारी ग्रेको कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकी नागरिकका व्यक्तिगत जानकारीहरु प्राप्त गर्ने वा चोर्नका लागि चीन र उसको सत्ताधारी कम्युनिष्ट पार्टीको निरन्तरको गतिविधिले के प्रष्ट पारेको छ भने उसको मुख्य ध्येय भनेकै चीनको आर्थिक तथा राष्ट्रिय सुरक्षा एजेण्डाको प्रवर्द्धनका लागि ठूलो परिमाणमा डाटा संग्रह गर्नु नै हो ।’
विश्लेषकहरुले भने ट्रम्पको यो कदम चीनलाई चिढ्याएर जवाफी कार्य गर्न लगाउँदै अमेरिका र चीनबीचको सम्बन्धलाई झनै बिगार्ने र आगामी राष्ट्रपति जो बाइडेनका हात बाँध्नका लागि चालिएको कदम भएको टिप्पणी गरेका छन् ।
चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनका लागि ट्रम्पले जारी गरेको यो र यस्तै अन्य कार्यकारी आदेशहरुमाथि बाइडेन प्रशासनले निश्चित रुपमा समीक्षा गर्नेछ । तर यदि ट्रम्पका कार्यकारी आदेशहरु भविष्यमा कार्यान्वयन भए भने त्यसले चीनमा रहेका अमेरिकी कम्पनीहरुलाई नै असर पर्ने विश्लेषकको भनाइ छ ।
बाइडनलाई सत्ता सुम्पनुअघि ट्रम्पले चिनियाँ कम्पनीहरुमाथि दबाब सिर्जना गर्नेगरी भटाभट निर्णय गरिरहेका छन् ।
अघिल्लो महिना अमेरिकाले सरकारी चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसी तथा अन्य कम्पनीहरुमाथि बन्देज लगाएको थियो । हालैमात्र उसले एक नयाँ कानून जारी गरेको छ जस अनुसार अब अमेरिकी लेखापरीक्षण मापदण्ड पूरा नगर्ने चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जको सूचिबाट हटाइनेछ ।
–सिएनएनबाट
