वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १०७ केजी चरेससहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ३४ वर्षीय रविन तामाङ पक्राउ परेका हुन् ।
वीरगञ्ज–२१ स्थित परवानीपुरदेखि ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार राति चरेससहित तामाङलाई पक्राउ गरेको थियो ।नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकलाई रोकेर चेकजाँच गर्दा कन्टेनरभित्र राखिएको ग्यालिनबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । ‘ग्यालनमा फल्स बटम बनाएर त्यसभित्र चरेस लुकाएर राखिएको रहेछ,’ उनले भने ।
कन्टेनरको मालिक पनि तामाङ नै रहेकोले उनले नियमित रुपमा चरेस लगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपोसार गरिरहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले नै पर्सा जिल्ला अदालतमा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।