वीरगन्ज (पर्सा), / वीरगन्ज महानगरपालिका वडा नं, ९ गोश्वरारोड स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापकले गरेको भ्रष्टाचारबारे गुनासो गर्दा त्यहाँ कार्यरत एक जना शिक्षकको दुई दिन नवित्दै अन्यत्र सरुवा गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले विद्यालयको पूर्वाधार विकास लगायत अन्य विभिन्न बजेटहरु हिनामिना गरेको न्यूज २४ को चर्चित कार्यक्रम ‘कल २४’ मा जानकारी गराउँदा कार्यक्रम संचालन भएको दुई दिन नवित्दै त्यहाँ कार्यरत स्थायी शिक्षक रामदेव महासेठको वीरगन्ज महानगरपालिका शिक्षा महाशाखाले ति शिक्षकलाई अन्यत्र सरुवा गरेको हो ।
विद्यालयमा हुने गरेको भ्रष्टाचारबारे महासेठ लगायत उक्त स्कुलमा कार्यरत आधा दर्जन शिक्षकहरुको समूहले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी तथा शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णलाई बुंदागत रुपमा लिखित जानकारी गराएका थिए ।
तर स्कुलको बेथितीबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा गराउँदै पनि कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाइए पश्चात बाध्य भएर महासेठ सहितका शिक्षकहरुले न्यूज २४ का टिमलाई उक्त बेथितिबारे जानकारी गराएका थिए ।
त्यस पश्चात तत्काल यस टेलिभिजनले यही पुसको ११ गते शनिबार चर्चित कार्यक्रम ‘कल २४’ मार्फत स्कुलभित्र हुने गरेको भ्रष्टाचारबारे उजागर गरेको थियो । त्यस पश्चात विद्यालयका प्रधानाध्यापक एवं वीरगन्ज महानगरपालिकाका मेयरको सहयोगमा शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले ति शिक्षकलाई वीरगन्ज महानगरपालिकाभित्रकै अन्य स्कुलमा सरुवा गरिदिएको पीडित शिक्षक महासेठले आरोप लगाएका छन् । भ्रष्टाचारबारे बोल्दा उनीलाई नै त्यहाँबाट सरुवा गरिएकोले त्यहाँ हुने गरेको भ्रष्टाचारीलाई झन छर्लङ्ग बनाएको छ ।
एक त मुलुकमा शिक्षा क्षेत्र आफै बद्नाम छ । भ्रष्टाचारीमा शिक्षा क्षेत्र प्रथम स्थानमा आउँछ । त्यसमा पनि त्योबारे बोल्नेलाई उल्टै कारवाही गरेर भ्रष्टाचारीहरुको पकड कहाँसम्म र कति बलियो छ भन्ने पुष्टि भएको छ ।
यस विषयमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले स्कुलको भ्रष्टाचारी तथा बेथितीबारे जानकारी गराएको कारणले नभई उनको दरबन्दी मिलानको क्रममा सरुवा भएको बताए ।
उनले टिभीमा नै बोलेको कारण उहाँको सरुवा गरिएको छैन, त्यो गलत कुरा हो, उहाँ र त्यहाँका प्रधानाध्यापक दिनेश चौरसियाबीच आपसी द्वन्द्व पनि चलिरहेकोले कहिले विद्यालयमा उपस्थित नहुने जस्ता विविध कारणले गर्दा त्यहाँबाट उनको सरुवा गरिएको बताए ।
अब केही दिनमा प्रधानाध्यापकको पनि त्यहाँबाट सरुवा हुँदैछ भन्दै मेयर सरावगीले प्रअ चौरसिया र शिक्षक महासेठबीच आपसी द्वन्द्वको कारण शिक्षकहरु सधैं उपस्थित नहुने गरेको कारण पनि विद्यालय संचालनमा पनि असर परि रहेकोले उनको सरुवा गरिएको बताए ।
यता शिक्षक महासेठले पनि प्रअ र हामीबीच कुनै किसिमको आपसी द्वन्द्व नभई प्रअको भ्रष्टाचारबारे बोलेकोले प्रअको ममाथि आपसी रिसिवी हुन सक्ने बताए ।
विद्यालयमा उपस्थित नहुनु भनेको हकमा बोल्दे शिक्षक महासेठले आफु त्यही स्कुल भवनकै क्वाटरमा बस्दै आएकोले उपस्थित नहुने कुरै भएन् भने । बरु प्रधानाध्यापक सधैं स्कुलमा उपस्थित नहुने गरेको उनको भनाई छ ।