काठमाडौं । काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने ।हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते (बुधबार) देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।
मौसमविद श्रेष्ठका अनुसार अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।
पानी परे पनि काठमाडौं उपत्यकामा अघिल्लो दिनको तुलनामा न्यानो महसुस भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले बताए ।
