Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थलिएको ठमेल बजार : खोल्नुभन्दा बन्द गर्नुमा फाइदा रहेछ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 4.7K
    SHARES

  • नयाँ वर्षमा पनि बौरिएन कोमामा पुगेको ठमेल

काठमाडौं । क्रिसमस आयो, गयो । आज अंग्रेजी वर्षको अघिल्लो दिन हो । योबेला ठमेलमा आन्तरिक र वाह्य पर्यटकको खचाखच उपस्थिति हुनुपर्ने हो । हरेक चोक सिंगारिनुपर्ने हो । रेस्टुरेन्ट र होटेलहरु ग्राहकले खचाखच हुनुपर्ने हो । तर, यो वर्ष ठमेल विगतजस्तो देखिएन । चौबीसै घण्टा अनिँदो रहने ठमेल कोभिड-१९ को महामारीका कारण अहिलेसम्म सुनसान छ । न मानिसहरुको चहल-पहल छ, न न्यू इयर इभको सेलिब्रेसन बनाउने मुडमा छ ठमेल ।

बरु, मध्य दिनमा पनि पाइलैपिच्छे सटरहरु बन्द देखिन्छन् । खुलेका रेस्टुरेन्ट, होटेल खाली छन्, हेण्डीक्राफ्टका पसलमा बसेका सञ्चालकहरु निराश छन् । ‘हामीले १० वर्षे युद्ध र जनआन्दोलन, नाकाबन्दीमा पनि ठमेलको व्यवसायबाहेक कुनै विकल्प सोच्नुपरेको थिएन’, ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष पुण्यराम लगेजु भन्छन्, ‘कोरोनाकालमा लकडाउनसँगै ठमेल कोमामा गएको छ ।’ लगेजुका अनुसार ठमेलका करिव ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । अब ठमेल फेरि पहिलेकै अवस्थामा फर्किन सक्ला त भन्ने यक्ष प्रश्न उब्जेको छ ।

ठमेलमा डेढ सयभन्दा बढी रेस्टुरेन्ट, करिव तीन सयको संख्यामा होटेल, दुई हजार हाराहारी र एक हजारभन्दा बढी कार्गो व्यवसायी रहेका थिए । ठमेल पर्यटन विकास परिषदमा मात्र दुई हजार व्यवसायी सूचीकृत छन् । ठमेलको यति ठूलो व्यवसाय ६० देखि ७० प्रतिशत बाह्य पर्यटकमा आश्रति थियो । बार, डिस्को र क्लबमा रमाउन आउने नेपालीहरुको संख्या पनि उत्तिकै हुन्थे । परिषदका अनुसार दैनिक अर्बभन्दा बढीको कारोबार ठमेलबाट मात्र हुन्थ्यो ।

तर, कोभिडले बाह्य पर्यटनको आगमन ठप्प भएको छ । आन्तरिक पर्यटकको पनि क्रय शक्ति कमजोर बन्दै गएकाले ठमेल पुनर्जागि्रत हुन सकेको छैन । ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजु भन्छन्, ‘सटर खोलेका व्यवसायीसँग पनि झिंगा धपाएर बस्नुबाहेक अरु विकल्प छैन ।’

  • पहिलोपटक ठमेल विकल्पको मोडमा

ठमेलमा खुलेका थोरै रेष्टुरेन्टमध्ये एक हो, ‘ला बेला क्याफे एण्ड एक्यू बार’ । क्याफे लाइट र सोफाले सुसज्जित छ । कुक र वेटरहरु पनि ग्राहकको प्रतिक्षामा छन्, तर दिनमा पाँचजना ग्राहक पाउन मुस्किल छ । नौ करोडको लगानीमा दुई तलामा बनेको यो क्याफेका सञ्चालकले मासिक भाडा भने तिर्दै आएका छन् । ‘योबीचमा दुईपटक गरी एक/डेढ महिना खोलेँ । अहिले तीन हप्तादेखि फेरि खोलेको छु’, क्याफेका सञ्चालक संघर्ष विष्ट भन्छन्, ‘खोल्नुभन्दा बन्द गर्नुमा फाइदा रहेछ ।’

विष्टको लाबेलासँगै नर्थफिल्ड क्याफे पनि छ । तर, उनले नर्थफिल्ड खोल्ने आँट गरेका छैनन् । २७ वर्षदेखि ठमेलमा व्यवसाय गर्दै आएका उनलाई ठमेलमा अब आफ्ने क्याफे जोगाउन नै हम्मेहम्मे पर्ने देखिएको छ । उनी, जायजेथाले भ्याएसम्म थाम्ने र नसके छोड्ने मनस्थितिमा बनाएका छन् । ‘अरु क्षेत्र विस्तारै लयमा फर्कन थाले पनि पर्यटनमा आधारित क्षेत्रहरु मृत्युशैय्यामा छटपटाइरहेका छन्’, उनले भने, ‘एक लाखलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले कुनै कार्यक्रम लिन नसक्दै ज्यादै दुःख लागेको छ ।’

थर्ड आई र इन्ह्याङ रेस्टुरेन्टका सञ्चालक तेजेन्द्रनाथ श्रेष्ठ पनि कोरोनाकालमा एक करोडभन्दा बढी घरभाडा बुझाइसके । तर, रेस्टुरेन्ट खोल्न सकेका छैनन् । ‘अरु खर्च पनि जोड्दा दुई करोड बढी घाटा भइसक्यो’, उनले भने । अब आगामी माघबाट रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना बनाएका छन् । तर, व्यापार हुन्छ भन्नेमा ढुक्क छैनन् ।

ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजुको सातघुम्ती नजिकै ट्रेकिङ गेयरका पसल ‘यामा आउट डोर’ छ । उनको पसल एकजना स्टाफले कुरिरहेकी छिन् । पहिले दैनिक ३०/४० हजारको व्यापार हुन्थ्यो । अहिले आक्कल-झुक्कल हुने व्यापारले खाजा खर्चसम्म पुग्छ । ठमेलमै भएको अर्को कार्गो व्यवसाय उनले अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैनन् । अधिकांश कार्गो व्यवसायीले ठमेल क्षेत्र छोडेका छन् । उनले पनि बानेश्वर, बसन्तपुर र ढल्कोमा मःम मज्जा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । ‘व्यवसाय शुरु गरेको २० वर्षदेखि अहिले ठमेलको विकल्प खोज्नुपरिरहेको छ’ उनले भने, ‘थोरै लगानी गर्ने हामीलाई यत्ति गाह्रो छ भने ठूलो लगानी गर्नेहरुको के हालत होला ?’

मिन्हाज खानको कफी सप पनि सुनसान छ । उनका अनुसार पहिले दैनिक २०/२५ २ हजारको व्यापार हुन्थ्यो । लकडाउनपछि व्यवसाय शून्यमा झरेको छ । मासिक ५० हजार रुपैयाँ सटर भाडा भने बुझाउनुपर्छ ।

उनले पर्यटकलाई लक्षित गरी सञ्चालित होस्टेल कोरोनाकालमै बेच्न बाध्य भए । मिन्हाज भन्छन्, ‘३५ लाखमा बनाएको होस्टेल १९ लाखमा बेच्नुपर्‍यो ।’ ठमेलको नरसिङ चोकदेखि केही अगाडि रेड लायन लाइभ लन्ज, बार छ । ११ चैतको लकडाउनसँगै बन्द रहेको रेडलाइन अहिलेसम्म खुल्न सकेको छैन । त्यसको दुई घर अगाडि फूल मुन क्याफे पनि कहिल्यै नखुल्ने गरी बन्द भएको छ । रेस्टुरेन्ट र होटेल बन्द हुने क्रम निरन्तर जारी छ । व्यवसायीहरु भन्छन्, ‘ठमेलका सटरहरुमा ‘टु लेट’ (भाडामा) लेखेको ब्यानर देख्न परेको थिएन । अहिले त छ्यापछ्याप्ती देखिन्छन् ।’

  • ३० करोडको होटेलमा ताला

सागर पाण्डेले १ अक्टोबरदेखि यात्री होटेलमा ताला लगाए । दुई वर्षअघि ३० करोड लगानी गरेर सञ्चालनमा ल्याएको होटेलकोे मासिक भाडा मात्र २२ लाख रुपैयाँ छ । होटल खोलेपछि नियमित खर्च थपिन्छ । तर, होटल पनि राम्रोसँग नचल्ने, खर्च भने बढ्ने भन्दै सागर भन्छन्, ‘आफूलाई सेफ साइडमा राख्न पनि होटेल बन्द गर्नुपर्‍यो ।’

उनले होटेल मुनलाइट, नर्वोलिङ, होटेल इन्काउन्टर नेपाल र अफ्तार भने जसोतसो खोलेका छन् । भन्छन्, ‘छिटपुट रुपमा ग्राहक आउने भएपनि यात्रीमा जस्तो ठूलो खर्च नभएकाले अन्य होटेलक जसोतसो धानिरहेको छु ।’

उनका अनुसार सबै होटल सञ्चालनमा आउँदा ६ सयभन्दा बढीलाई रोजगाी पाउँँथे भने वषिर्क ५/६ करोड रुपैयाँ कर रसकरारलाई तिर्थे । कोभिडकालमा आम्दानी त छैन नै, सात करोडभन्दा बढी घाटा भयो । ‘सरकारलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने पर्यटन व्यवसायीलाई सरकारले बेवास्ता गर्नु निकै दुःखद छ’, उनले गुनासो पोखे ।

उनका अनुसार ठमेलका करिव ३०० होटलमध्ये २०/२५ प्रतिशतले ताला लगाइसकेका छन् । हुन पनि अरुबेला निकै चहल-पहल हुने सञ्चय कोषदेखि नरसिङ चोक, सात घुम्ती हुँदै सोह्रखुट्टे निस्कने बाटो आसपासका अभिकांश सटर बन्द भएका छन् । भित्री गल्लीका त ५० प्रतिशतभन्दा बढी सटर बन्द छन् । र, अधिकांशले व्यवसाय नै छाडेर हिँडेको ठमेल पर्यटन विकास परिषदका कोषाध्यक्ष लगेजु बताउँछन् ।

  • सबैभन्दा मारमा ठमेल

कोभिड-१९ को महामारीले विदेशी पर्यटकमा आश्रति झिलिमिली ठमेलको मानक नै परिवर्तन हुने अवस्थामा पुगेको छ । हेण्डीक्राफ्ट, क्युरियोदेखि अधिकांश होटेल रेस्टुरेन्ट विदेशी पर्यटकलाई लक्षित गरेर खोलिएका छन् ।विदेशी पर्यटकहरु नआउँदासम्म ठमेलको अवस्था यस्तै रहने व्यवसायीहरुको अनुमान छ । किनकि छिटफुटरुपमा पुग्ने नेपाली ग्राहकले ठमेललाई धान्न सक्ने अवस्था छैन । ‘दरबारमार्ग, झम्सीखेल, लाजिम्पाटजस्ता ठाउँहरु नेपाली ग्राहकहरुका कारण विस्तारै पुनउत्थान हुँदैछन्’, व्यवसायी तेजेन्द्रनाथ भन्छन् । ‘तर ठमेलको अवस्था भिन्न छ ।’

यद्यपि पछिल्लो दुई हप्तादेखि सरकारले रातको १२ बजेसम्म क्लब र बार चल्ने अनुमति दिएपछि भने उक्त क्षेत्रले अलिकति सास फरेेको व्यवसायी तेजेन्द्रनाथ बताउँछन् । किनकि नाइटलाइफमा रमाउने नेपालीहरुको संख्या निकै ठूलो छ । ठमेलमा २५/३० वटा नाइट क्लव र बार छन् । तेजेन्द्र भन्छन्, ‘नाइट क्लबमा विश्वासै नगरेको मानिसहरुले आइरहेका छन्, जसका कारण व्यवसाय टिकाउने आश बढेको छ ।’ ठमेललाई राहत दिन सरकारले आन्तरिक पर्यटनलाई पनि प्रोत्साहन गर्नुपर्ने तेजेन्द्रको भनाइ छ । भन्छन्, ‘वाषिर्क १२ लाख नेपाली विदेश घुम्नको जाने गरेको तथ्यांक छ । उनीहरुलाई नेपालमा पनि घुम्नको लागि प्रोत्साहन गर्नुपर्छ ।’

रेस्टुरेन्ट बार एसोसियसनका उपाध्यक्षसमेत रहेका संघर्ष विष्टले सरकारले ‘टुरिज्म रिभाइभ प्याकेज’ कार्यान्वयन नगरेको चिन्ता व्यक्त गर्छन् । सहुलियतपूर्ण ऋण पनि पहुँचवालाले मात्र पाउने उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४