Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्वारेन्टिनमा बस्दा आमालाई सम्झिन्छु : डा. रुपेश गामी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 8.9K
    SHARES

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगरमा कार्यरत ५७ वर्षीय सीताराम दाहालको २८ साउनमा कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । उनी प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान गुमाउने दसौं र कोशी अस्पतालमा मृत्यु हुने पहिलो व्यक्ति थिए । उनीअघि पाँच जना होम आइसोलेसनमा र चार जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बितेका थिए ।

दाहाल सिकिस्त भएर थलिनुअघि प्राधिकरणको फिल्डको काममा खटेकाले समयमै उपचार पाएनन् । श्वासप्रश्वासमा गम्भिर समस्या भएर कोशी अस्पताल आउँदा आईसीयू थिएन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेड पाइएन । सहज उपचार नपाउँदा उनले कोशी कोभिड अस्पतालको सामान्य बेडमै प्राण त्यागे ।

प्रदेश सरकारले गत चैतमा अस्पताल खोल्दा १० बेड आईसीयू भने पनि साउन अन्तिमसम्म ती सञ्चालनमा थिएनन् । दाहालको मृत्यु पछि मात्र कोशी कोभिड उपचार केन्द्रमा आईसीयू र भेण्टिलेटर सेवा सुरु भयो । त्यो पनि, दाहालका आफन्तजन र नागरिकहरुले धेरै आक्रोस देखाएपछि ।

कोशीमा आईसीयू र भेण्टिलेटर सेवा थाल्न डा. रुपेशकुमार गामी (४०) को ठूलो सकृयता रह्यो । अस्पतालको एनेस्थेसिया विभाग प्रमुख रहेका उनैले जनशक्ति तयार गरेपछि सेवा सुरु भयो । डा. गामी, सिनियर फिजिसियन दीपक सिग्देल र फिजिसियन डेनप्रसाद आचार्यसहितको टोलीले प्राविधिक व्यवस्था मिलाएर विरामी भर्ना सुरु गरेको थियो ।

‘स्वास्थ्यकर्मीहरु नै संक्रमित भइरहेको बेला धेरै जोगिएर काम गर्नुपर्ने थियो, सबै डराएका पनि थियौं’, डा. गामी भन्छन्, ‘तर, विरामीको जीवनरक्षा गर्नैपर्ने भएकाले दुई दिन तालिम गरेर आईसीयू सेवा सुरु गर्यौं ।’

आईसीयू सुरु भएपछि गम्भिर प्रकृतिका विरामीको उपचारका लागि उनी आफैं खटिए । सिफ्टमा बाँधिएर खटिदा घर मात्र होइन, आफैंलाई बिर्सिनपर्ने अवस्था आएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘विरामी धेरै भएपछि हेर्दा हेर्दै समय बितेको पत्तै हुँदैन ।’

संक्रमितको उपचारका लागि अस्पतालले १५ दिनको सिफ्ट बनाएको छ । यसअनुसार काम गरेपछि सात दिन क्वारेन्टाइन बसेर, पीसीआर जाँच गरेर पुनः काममा फर्कनुपर्छ । ‘पीपीई लगाएर घन्टौं खटिनुको दुःख बेग्लै छ’, डा. गामी भन्छन्, ‘सबै पीडा सहेर काम गर्दा कहिलेकाहीँ अपजस पनि पाइन्छ ।’

एनस्थेसियामा एमडी गरेका गामीको दोस्रो पोष्टिङ हो, बिराटनगर । २९ मंसिर २०७६ का दिन कोशी अस्पतालमा  हाजिर भएका उनी कोरोना महामारीविरुद्ध जुधिरहँदा अझै डर नहराएको बताउँछन् । ‘बेलाबेला अरु र आफूलाई पनि आँटभरोसा दिँदै काम गर्नुपरेको छ’, उनी भन्छन्, ‘संक्रमण नघटेकाले काममा बहुत प्रेसर छ ।’

अब त झन् गाह्रो अवस्था आउँदै गरेको उनी देख्छन् । उनका अनुसार अहिले नै विरामीलाई बेड पाउन मुस्किल छ । ‘गेट अगाडि पालो कुरेर बस्नुपर्ने अवस्था छ’, डा. गामी भन्छन्, ‘थप तयारी नगरे अब अस्पतालले विरामी थेग्न सक्दैन ।’

कोरोना महामारी चीनबाट युरोपमा फैलिएपछि फागुन पहिलो साता  विराटनगरमा सतर्कताका लागि छलफल भयो । चैतबाट प्रदेश सरकारले कोशीमा कोभिड अस्पताल सुरु गर्याे । धेरै नै दबाब परेपछि साउन अन्तिमबाट क्रिटिकल केयर (आईसीयू र भेन्टिलेटर) पनि सुरु भयो । सबै सेवाको प्राविधिक जिम्मेवारी कोशी अस्पतालकै थियो ।

लामो तालिमलाई २–३ दिनमा छोट्याएर जनशक्ति व्यवस्थापन गरेको डा. गामी बताउँछन् । क्रिटिकल केयर सुरु गरेपछि उपचारमा धेरै सहज भएको उनको अनुभव छ ।

‘टाढाबाटै बुबा–आमालाई सम्झन्छु’

डा. गामीको घर जनकपुर–४ मा पर्छ । कर्मथलो बिराटनगरमा क्वारेन्टिनमा बस्दा बुबा–आमा, घर र आफन्तलाई मनभरि सम्झने गरेको उनी बताउँछन् । ‘कोरोना आएपछि जनकपुर जान पाइएको छैन, होटलको क्वारेन्टिनलाई नै घर मान्नु परेको छ’, उनी भन्छन् ‘क्वारेन्टिनमा बस्दा सबभन्दा बढी आमालाई सम्झिन्छु ।’

कोरोना महामारीमा आफूले सकेको योगदान गर्न पाएकोमा भने डा. गामी धेरै सन्तुष्ट छन् । कतिपय अवस्थामा फ्रन्टलाइनरहरुको मनोबल गिराउने काम हुँदा भने उनको दिल दुख्छ । उनी भन्छन् ‘सरकार र समाजले त काम गर्नेहरुको मनोबल बढाउने हो, गिराउने होइन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४