काठमाडाैं, / नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेशसचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर विवादास्पद छवि नभएका राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने पहल भइरहेको टिप्पणी गरेका छन् । भारतीय पत्रिका ‘दि ट्रिब्युन’ मा नेपालसम्वन्धी एक लेख प्रकाशित गर्दै उनले विवादास्पद छवि नभनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका हुन् ।
श्यामशरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ ओलीलाई संसदको भंगको निर्णय खारेज गर्न र नेतृत्व परिवर्तन स्वीकार्न दबाब दिइरहेका छन् । उनलाई राजीनामा गर्न राजी गर्नका लागि प्रधानमन्त्रीको रूपमा विवादास्पद छवि नभएका राजनीतिक व्यक्तित्व ल्याउने चालहरू चालिएका छन् ,’ उनले लेखेका छन्, ‘पछिल्लो संकट कसरी अगाडि बढ्छ, हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’
उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् । उनले लेखेका छन् ‘निश्चय नै चाइनिज सक्रिय क्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-मन्त्रीको नेतृत्वमा चार सदस्यीय दलको प्रतिनिधिमण्डललाई नेपाल पठाएको छ, यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’
त्यस्तै शरणले नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको आशंका व्यक्त गरिएको चर्चा गरेका छन्। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको हुन सक्ने आशंका व्यक्त गरिएको उनले बताएका छन्।