काठमाडौं, १३ पुष । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले अध्यक्ष नेपालसँग बानेश्वरस्थित एभरेस्ट होटलमा भेटवार्ता गरेको हो ।
उक्त भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको बताइएको छ । साथै, आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको बताइएको छ ।
यसअघि उक्त टोलीले अर्का अध्यक्ष दाहालको निवास खुमलटार पुगेर भेटवार्ता गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो ।
उक्त टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।