सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको समूहका अधिकांश नेताहरु भने प्रचण्ड–माधव नेपाल समूहमा छन् ।तत्कालीन नेकपा माओवादी विभाजन हुँदा पनि बादलले प्रचण्डको साथ छोडेर मोहन वैद्य ‘किरण’लाई रोजेका थिए । तर पछि उनले किरणको साथ छोडे र प्रचण्डसँग पार्टी एकता गरेका थिए । बादलसहितका पूर्वमाओवादी घटकहरुको पार्टी एकतापछि ‘नेकपा माओवादी केन्द्र’ गठन भएको थियो ।
तत्कालीन माओवादी केन्द्र र एमालेसँग पार्टी एकता भएपछि बनेको नेकपामा बादल समूहले ३४ केन्द्रीय सदस्य पद पाएको थियो । प्रचण्डको प्रस्तावमा बादलले नेकपा सचिवालय सदस्य र गृहमन्त्री पाएका थिए । स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो वरियता मागेका छन् ।
बादल ओलीतिर लागे पनि उनको समूहका प्राय सबै प्रचण्ड–माधव नेपाल समूहमै छन् । बादल समूहका एक नेताले जन न्युज नेपाल खबरसँग भने, ‘उहाँ (बादल) सेनाविनाको सेनापतिजस्तो हुनु भएको छ । हामी प्रचण्ड–माधवतिरै छौं, उहाँ ओलीतिर लाग्नुभयो ।’बादल निकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले पनि बादलको साथ छोडेको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बादलजी तपाईंसँग सति जान सकिएन । तपाईंको प्रगति होस् ।’
नेकपा विभाजनलगत्तै बादल समूहका नेताहरुले ओलीको साथ छोड्न दबाव दिँदै आएका थिए । तर सुरुमा निर्णय लिन नसकेका उनी ओली र प्रचण्ड–माधव समूहका दुवै बैठकमा अनुपस्थित हुँदै आएका थिए । तर गएराति र आज बिहान पनि आफू निकटका नेताहरुसँगको बसाइँमा बादलले यतिन्जेल साथ दिएकोमा धन्यवाद दिँदै आफू ओलीतिरै लागेको जानकारी गराएको एक नेताले बताए ।
पूर्वमाओवादीका टोपबहादुर रायमाझी र मणि थापा पनि ओली समूहतिरै लागेका छन् ।
लुम्बिनी प्रदेशसभाका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले भने आफूहरु प्रचण्ड–माधव समूहकै बैठकमा सहभागी हुने बताएका छन् । सोनामकी पत्नी तारा घर्ती भने सुरुदेखि नै प्रचण्ड–माधव समूहको बैठकमा सहभागी हुँदै आएकी छन् ।
बादल समूहका देव गुरुङ र पम्फा भुसाल भने सुरुदेखि नै प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् ।
- बादल समूहका केन्द्रीय नेताहरुको नामावली–
- रामबहादुर थापा (बादल)
- देव गुरुङ
- पम्फा भुसाल
- कुलप्रसाद केसी (सोनाम)
- तारा घर्ती
- पूर्णबहादुर घर्ती (आयाम)
- सूर्य सुवेदी (पथिक)
- ज्ञानु बस्नेत (सुवेदी)
- हितमान शाक्य
- अमृता थापामगर
- दिलिप कुमार प्रजापति
- श्रीराम ढकाल (प्रशान्त)
- रामदीप आचार्य
- लेखनाथ न्यौपाने
- दावा तामाङ
- कुमारी मोक्तान
- मौसम लिम्बु (इन्द्र आङ्बो)
- सावित्री कुमार काफ्ले
- इन्द्रजित थारु
- मायाप्रसाद शर्मा
- नरेश भण्डारी
- महेश्वर दाहाल
- युवराज भट्टराई
- सुरेश आलेमगर
- लक्ष्मीदत्त जोशी
- नेपबहादुर चौधरी
- महादेव यादव
- रुपा चौधरी
- हरि बहादुर चुमान
- सुरेश कुमार राई (हिमाल किराँती)
- विजय भण्डारी
- शरदसिंह भण्डारी
- झकबहादुर मल्ल (सुदीप)
- राजेन्द्र कार्की
- टेक बलम्पाकी
