Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरक्षाकर्मीको दुःख, मुटु काम्ने जाडोमा ज्याकेटका भरमा ड्युटी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 3.2K
    SHARES

इलाम । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।

यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन । जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ । “हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ”, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भने, “जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।”

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् । यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ । आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ । पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ । “अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो”, प्रमुख थापाले भने, “मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।”

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ । जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । “माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ”, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भन्नुभयो, “यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।”

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ । सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो । सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यता जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताएका छन् । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिए । यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई÷दुई किलोमिटरमा बीओपी रहेका छन् । भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४