Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ऐतिहासिक कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 5K
    SHARES

काठमाडौं । गत वर्षको मंसिर पहिलो साता काठमाडौं महानगरपालिका-१ हात्तीसारमा भवन निर्माणको लागि जग खन्दा लिच्छविकालीन ढुंगेधारा (हिटी) भेटियो ।

त्यो धारा पुरेर भवन बनाउन थालिएपछि स्थानीयले संघर्ष समिति बनाएर प्रतिरोध गरे । त्यसको थप उत्खनन् गरेका पुरातत्वविद्हरूको अनुमान थियो- यो ढुंगाधाराको मूल स्रोत नै कमलपोखरी हुन सक्छ ।काठमाडौं उपत्यकाको मध्यक्षेत्रको ढुंगेधारा, इनार र ट्युबेलको भूमिगत स्रोतमध्येको एक कमलपोखरीलाई आकर्षक बनाउने प्रयास जारी छ । यो पोखरीले आधुनिक स्वरूप पाएपछि त्यस क्षेत्रको भूमिगत पानीको स्रोतमा असर पर्छ कि पर्दैन केही समयभित्रै थाहा हुनेछ ।

काठमाडौंका पोखरीहरूको ऐतिहासिक-प्राकृतिक महत्व बुझ्नेहरूले भने कमलपोखरीलाई आकर्षक पार्ने योजनामाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूका अनुसार सौन्दर्यीकरण गर्ने भन्दै थालिएको कामले कमलपोखरीको मौलिकतामा प्रहार गरेको छ। यसरी कंक्रिट संरचना तयार पारेर पोखरी बनाउँदा कमलपोखरी स्विमिङ पुल बन्ने चिन्ता अभियान्ताहरूको छ ।

कमलपोखरीमा अहिले डोजर चलिरहेको छ । पोखरीको ऐतिहासिकता पुष्टि नभएको कारण देखाएर विगतमा रानीपोखरीमा भएकै शैलीमा काम हुँदैछ । त्यसको विरुद्ध स्वर पनि उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले भने त्यसलाई वास्तै नगरी कामलाई गति दिएको छ ।

कमलपोखरीको ऐतिहासिकता र पुरातात्विक महत्वबारे अहिलेसम्म अध्ययन, अनुसन्धान र अन्वेषण भएको छैन । केहीले यसलाई लिच्छविकालीन, कसैले मल्लकालीन र कतिले शताब्दी पनि नकटेको पोखरी भनेका छन् ।

पुरातत्वविद् सुदर्शनराज तिवारीका अनुसार यो पोखरीको आधा भाग अतिक्रमणमा परिसकेको छ । कहिले सडकका लागि त कहिले पार्क बनाउने भन्दै पोखरी मिचिएको छ । पोखरी वरपर ठूलाठूला भवनहरू थपिएका छन् । अहिले बचेको भागमा संरचनाहरू थप्ने कामले गति लिएको छ ।

अब महानगरपालिकोले पार्क बनाइसक्दा कमलपोखरीको स्वरूप पूरै फेरिने छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ नक्साल लगायतका पुराना बस्तीको ढल आउने यो पोखरीलाई राम्रो बनाउन लागेको बताउँछन् ।

‘७७ वर्षको म यहीको बासिन्दा हुँ । मैले जान्दादेखि यो पोखरी दिसा बस्ने ठाउँ थियो,’ उनी भन्छन्, ‘यो ऐतिहासिक पोखरी हो भन्ने कुनै प्रमाण छैन । यसलाई अतिरञ्जित गर्ने काम मात्र भइरहेको छ ।’

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भने कमलपोखरी ऐतिहासिक महत्वको भएको बताउँछन् । ‘यो सिम्सार क्षेत्र पनि भएकोले यसलाई सुकाएर प्राकृतिक पानी रिचार्ज प्रक्रिया अवरुद्ध पार्ने हर्कत गर्नुहुँदैन’, उनी भन्छन्, ‘पोखरीमाथि कंक्रिटका संरचना थप्नु बिल्कुलै गलत काम हो ।’

पहिले रानीपोखरीमा कंक्रिट प्रयोग गरेकाले हटाइएको कम्पनीलाई कमलपोखरी जिम्मा लगाएकोले पनि शंका भएको तुलाधर बताउँछन् । ‘कमलपोखरीको गुरुयोजनाको जानकारी पाउन सूचनाको हक अन्तर्गत निवेदन दिन परेको छ,’ उनले भने, ‘जनतासँग लुकाएर गरिएको काम रोक्न अर्को कानुनी झमेला गर्नुपर्ने अवस्था छ ।’

महानगरपालिकाले कमलपोखरीमा रानीपोखरीकै अनुभव पनि प्रयोग नगर्नु दुखद् भएको उनले बताए ।

आधुनिक पोखरी बन्दै

काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट सुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ ।

कमलपोखरीलाई आकर्षक बनाउने भनिएकाले स्थानीयवासी खुसी छन् । अस्तव्यस्त पोखरीलाई पुनर्जीवन दिने भन्दै थालिएको काममा वडा कार्यालयको पनि सक्रियता छ । सम्पदाप्रेमीहरूले कमलपोखरीको पुनर्निर्माण अहिलेको शैलीमा नगर्न महानगरपालिकालाई लिखित आग्रह गरेपनि काम रोकिएको छैन ।

कंक्रिटको प्रयोग

अहिले भइरहेको संरचना निर्माणमा ढुंगा र सिमेन्ट प्रयोग गरिएको छ । पोखरी बीचमा सिमेन्टबाटै कमलको फूल बनाउने योजना छ । यो काम सकिएपछि पोखरी सुन्दर बन्ने निर्माण पक्षको दाबी छ । सम्पदाप्रेमीहरू भने पोखरीको मौलिकता मासिने चिन्तामा छन् ।

पुरातत्वविद् तिवारी पोखरी पुननिर्माण गर्दा परम्परागत मान्यता र शैली महत्वपूर्ण हुने बताउँछन् । ‘पर्यावरण संरक्षणको लागि पनि परम्परगत शैलीमै निर्माण गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘पुरातात्विक पक्ष स्पष्ट नभएपनि कमलपोखरीको पर्यावरणीय महत्व भएकाले त्यसलाई बचाउने गरी पोखरी बन्नुपर्ने हो ।’

उनका अनुसार पिँध र भित्तामा कालोमाटो राखेर त्यसमाथि इँटा बिछ्याउँदा पोखरीको प्राकृतिक चक्रमा धेरै असर पर्दैन । वरपरका क्षेत्रका इनार र ढुंगेधाराहरूमा पोखरीबाट हुने पुनः भरणको पक्षलाई विचार पुर्‍याएर पोखरी बनाउन उनको आग्रह छ ।

कमलपोखरी लिच्छविकालीन राजधानी मानेश्वर (विशालनगर) क्षेत्रको लागि ‘सुखपरेख’ हुनसक्ने पुरातत्वविद् तिवारीको अनुमान छ । अवस्थिति हेर्दा खानेपानी आपूर्तिका लागि नभई नौका विहार गर्न बनाइएको हुनसक्ने उनी बताउँछन् । कमलपोखरीको उत्तरपूर्वी भागमा उत्खनन् र अनुसन्धान गरे लिच्छविकालीन प्रमाणहरू भेटिन सक्ने पुरातत्वविद् तिवारीको अड्कल छ ।

‘कमलपोखरीको ऐतिहासिकतामाथि अध्ययन बाँकी रहेको अवस्थामा संरक्षण हेतु काम गर्ने हो भने परम्परागत शैली र प्राकृतिक पक्ष पछ्याउँदा उचित हुन्छ’, उनी भन्छन्, ‘यसको उत्तरपूर्वमा पानीको मुहान दक्षिण-पश्चिममा निकास हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४