काठमाडाैं, / जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी ‘कू’ गरेको बताउनुभएकाे छ ।
प्रधानमन्त्री केपी ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गर्नुभएकाे थियाे । उक्त प्रस्तावपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमार्त उहाँले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे ।
सङ्घीय संसदको प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु ओलीको प्रतिगामी कदम भएको बताउँदै त्यसको विरूद्ध तुरून्तै प्रतिनिधिसभाको बैठक डाक्नका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभएकाे छ ।
नेता श्रेष्ठले यस कदमको विरूद्ध रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुपने बताउँदै अबको आन्दोलनको मुख्य एजेण्डाहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, राष्ट्रिय स्वाधीनता, सहभागितामूलक समावेशी लोकतन्त्र, अधारभूत मानव अधिकारको रक्षा, विधीको शासन, समतामूलक समृद्धि, जनजीविकाको ग्यारेण्टी, सुशासन आदि हुनुपर्ने बताउनुभउकाे छ
सङ्घीय सांसद समेत रहेका श्रेष्ठले यसको प्रारम्भ भने प्रतिनिधिसभा विघटनको षडयन्त्रविरुद्ध सबै अग्रगामी परिवर्तनकारी शक्तिहरूको ‘सङ्घीय लोकतान्त्रिक गठबन्धन’ बनाएर गर्नुपर्ने बताउनुभएकाे छ ।