Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा फैलिँदै तोरी क्षेत्र !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ४ २०७७
  • 7K
    SHARES

चितवन । चितवनमा २०/२५ वर्षअघि निकै खस्किँदै गएको तोरीको उत्पादन पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष तोरीको क्षेत्रसहित उत्पादन पनि वृद्धि भएको हो ।

आर्थिक वर्ष २०५२/०५३ सालतिर जिल्लामा तोरीको उत्पादन दयनीय अवस्थामा घट्यो । तोरीमा लाग्ने रोग किरा र जमिनको तीव्र खण्डीकरणका कारण तोरी खेती गर्ने किसानहरुले पेशा नै परिवर्तन गर्न थाले । जसले गर्दा कुनै समयमा १८ हजार हेक्टरमा तोरी हुने जिल्लामा तोरी खेती ४५ सय हेक्टरमा झर्यो । अहिले तोरी १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिए । चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने देखिएको ढकालले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार माडी र पूर्वी चितवन क्षेत्रमा तोरी ब्यापक रुपमा लगाइएको छ । २०६४ सालपछि जिल्लामा तोरी लगाउने कृषक बढ्न थालेका हुन् । चितवनमा करीव १५ सय मेट्रिक टनभन्दा बढी तोरी उत्पादन हुँदै आएको छ । चितवनमा करीब २० हजारदेखि २५ हजार तोरी किसान रहेको अनुमान छ । तर, व्यावसायीक खेती गर्ने किसान भने छैनन् । सबै असंगठित छन् ।

तोरीबाली भन्दा अन्य बाली लगाउनतिर आकर्षित बनेका किसानहरु पुनः तोरी खेतीमा नै फर्किंदा उत्पादन वृद्धि भएको ढकालको बुझाइ छ ।  सरकारले केही वर्षअघि तोरी खेतिलाई प्रोत्साहन गर्न थालेपछि चितवनमा लोप हुन लागेको ठाउँमा पुनः तोरी फूल्न थालेको हो । सरकारले तोरी किसानलाई स्रोत बीउमा ५० प्रतिशत र तेल मिलमा ५० प्रतिशत अनुदान दिँदै आएको थियो ।

तर, अहिले भने तोरीलाई प्रोत्साहन गर्ने कुनै पनि सरकारी कार्यक्रम छैन । चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुर क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।

पछिल्ला वर्षमा तोरीको भाउ पनि किसानले राम्रै पाउन थालेका छन्

माटोमा तोरीका लागि चाहिने सुक्ष्म खाद्य तत्व सल्फर, बोरन, क्याल्सिमयको कमी भएको देखिए पनि माटोमा यी पदार्थहरु राखेर तोरी खेती गर्न थालियो । तोरीमा लाग्ने लाही र अल्टेनेरिया डडुवाको समेतको प्रभावलाई नियन्त्रण गर्न थालेपछि जिल्लामा तोरीको उत्पादन पुनः बढ्न थालेको विज्ञहरु बताउँछन् ।

कुखुरापालन, माछापालन, बाख्रापालन, पशुपालनमा या अन्य तरकारी खेतीबाट बढी लाभ पो लिन सकिन्छ की भनेर मन डुलाएका किसानहरु पुनः तोरीमा नै फर्किएकाले उत्पादन बढेको हुनसक्ने ज्ञान केन्द्र चितवनका प्रमुख ढकालले बताउँछन् ।

तोरीमा देखिएको रोग किरा र समस्या पत्ता लागेपछि किसानहरु यसतर्फ आर्कषित बन्न थाले । कम लगानी, एकपटक छरेपछि गोड्न नपर्ने हुँदा किसान तोरी बाली लगाउन आकर्षित भएको बताउँछन्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना । तिमिल्सिनाका अनुसार किसानहरुले पछिल्ला वर्षमा चाँडो पाक्ने धान लगाउँदा समयमा नै तोरी लगाउने समय पाएकाले आकर्षण बढेको हो । आफैंले लगाएर शुद्ध तोरीको तेल खाने वा अरु आफन्तलाई पठाउने र लगानी अनुसारको आम्दानी पनि पाउने देखिएकाले किसानहरु तोरी खेतीमा फर्किएको तिमिल्सिनाले बताए ।

माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले यस वर्ष धानमा लागेको रोग र किराको कारणले किसानहरु तोरीबाट घाटा पूर्तिका लागि यसतर्फ आकर्षित भएको दावी गर्छन् । उनका अनुसार माडीमा चक्लाबन्दी गरेर समूहमा समेत तोरी खेती गरिएको छ । पहिले ५ सय हेक्टरमा तोरी खेती भएकोमा यसपटक सो बढेर १ हजार हेक्टरभन्दा बढी पुगेको उनले बताए ।

पछिल्ला वर्षमा तोरीको भाउ पनि किसानले राम्रै पाउन थालेका छन् । अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

८० देखि ९० दिनमा तोरी खेती तयार हुन्छ । यसले गहुँबाहेक अन्य कुनै पनि बालीका लागि असर गर्दैन । पानीको खास आवश्यकता तोरीलाई हुँदैन तर सामान्य चिस्यान भने जरामा चाहिने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।

तोरी बजारको समस्या नभएको नगदे बाली हो । ‘मूल्य पनि राम्रो आउने, छोटो समयमा तयार हुने, सागको रुपमा समेत प्रयोग गर्न सकिन्छ,’ ढकालले भने, ‘तोरी भएको ठाउँमा वातावरण पर्यटन समेत राम्रो हुन्छ । ढकमक्क तोरी फूल्दा त्यसले दिने सौन्दर्यताले लोभ्याउने गर्छ । मानिस मात्रै होइन तोरीका कारण मौंरी समेत आकर्षित हुन्छन् । मौरीपालन व्यवसायलाई माथि उठाउन तोरी खेतीको महत्वपूर्ण भूमिका हुन्छ ।’

मौरीपालक किसानहरुले मौरीका घारहरु तोरी खेती भएका ठाउँमा ल्याइ राख्ने गर्दछन् । तोरी लगाउने किसानले सँगसँगै मौरीपालन पनि गरे त्यसले थप फाइदा हुने किसानहरु बताउँछन् । तोरीसहितका बालीहरुमा पारागसेचन गराउन मौरीको भूमिका निकै महत्वपूर्ण रहने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४