काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई पन्ने पत्र पढेर सुनाएपछि एक साता स्थगित भएको थियो
कोरोना संक्रमणबाट पार्टी केन्द्रीय सदस्य कमानसिं लामाको मंसिर २५ मा निधन भएकाले २८ को बैठक शोक प्रस्ताव पारित गरेर सकियो । तीन दिन स्थगित गरेर आजका लागि बोलाइएको बैठकमा भने पार्टी विवादबारे स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने योजना छ । तर पार्टीमा विवाद चलिरहेका बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमा अध्यादेश फिर्ताकको माग उठाउने सम्भावना बढी छ । एक स्थायी कमिटी सदस्यका अनुसार, अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय समेत गर्ने सम्भावना छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले यसबारे प्रष्ट धारणा राखेका छैनन् । ओली पक्षका स्थायी कमिटी सदस्यहरुमध्ये ईश्वर पोखरेलले अध्यादेशको समर्थन गरेका छन् । उनी बाहेकका नेताहरुले अध्यादेशबारे बोल्न चाहेका छैनन् ।
सरकारले वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसबेला दल विभाजन सम्बन्धी अध्यादेशसँगै नेकपामा विवाद सुरु भएको थियो र तीन दिनमै अध्यादेश फिर्ता भएको थियो ।
।