Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरहरा पुनःनिर्माण तोकिएको समयमा नसकिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 6.9K
    SHARES

काठमाडौ,/  धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनःनिर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको हो । मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो ।

दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि हिजोआज निर्माणका काममा सुस्तता देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर शुरुआती चरणमा तीव्र रुपमा निर्माणको काम भए पनि पछिल्लो समय सोहीअनुरुप काम अघि बढ्न नसक्दा थप गरिएका समयमा पनि काम सकिन्छ भन्नेमा शङ्का उब्जिएको बताउनुहुन्छ । कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण प्राधिकरणले आठ महिना समय थप गरिदिएको छ ।
नेपाली र केही भारतीयसहित दैनिक १५० कामदार नियमित रुपमा निर्माणमा जुटिरहेका छन् । धरहरा पुनःनिर्माणका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठ आफूहरुले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको बताउनुहुन्छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किलै छ । “धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्य अभिवृद्धि र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, म्यानेजर श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार ऐतिहासिक ढुङ्गेधारा क्षेत्रलाई संरक्षण गर्ने गरी काम भइरहेको छ । ढुङ्गेधाराबाट निरन्तर पानी खस्ने व्यवस्था गर्न लागिएको छ । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा रु तीन अर्ब ४८ करोड खर्च लाग्ने बताइएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ-याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् ।

बयालीस रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् । बाहिरबाट ११ तलाको देखिने भए पनि स्तम्भ २२ तलाको हुनेछ । यसको उचाइ ७२ मिटर तथा १४.६३ मिटरको आधार रहने छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ । यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने बताइएको छ । धरहराको १८ औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

पचास वर्षअघिदेखि हुलाक सेवा दिँदैआएको यहाँको गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागकै प्राङ्गणमा सारिएको छ । गोश्वारा हुलाकको भवन भएका ठाउँमा तीनतले भूमिगत पार्किङ स्थल बन्ने छ । यहाँस्थित टक्सार विभाग पनि बबलमहलमा स्थानान्तरण भएको छ । टक्सार विभाग रहँदा सुरक्षाका कारण बन्द गरिएको पुरानो बाटोलार्ई स्थानीय जनताको मागअनुसार केही समयअघिदेखि खोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४