Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुग्लानमा गुम्यो रोजगारी, गाउँमा व्यवसाय थालनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 9K
    SHARES

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे ।

आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन् । ‘विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनतमा पनि गुजारा चलाउन सकिँदो रैछ भन्ने बल्ल थाहा भयो’, उनले भने,  ‘परिवारमा बसेर गाउँमै व्यवसाय गरेर जीविका चलाउने गरी अघि बढेको छु ।’

यहाँको वेदकोट नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकाका लागि कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम ल्याएपछि आफूलाई उत्साह थपिदिएको धामीको भनाइ छ ।

कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले विभिन्न वडालाई पकेट क्षेत्र निर्धारण गरेपछि उनको वडा लसुन पकेट क्षेत्रमा परेपछि व्यावसायिकरूपमै लसुन खेतीमा लागेका छन् । नगरपालिकाको सहयोग पाएपछि उनले चार कठ्ठा जग्गामा लसुन खेती गरिरहेको बताए ।

त्यसैगरी कोरोना महामारीकै बीच भारतको दिल्लीबाट गत वैशाखमा स्वदेश फर्किएका वेदकोट–८ का लालीराम कामी सीमा नाका र क्वारेन्टाइन बसाइको दुःख सम्झेर रोजगारीका लागि भारत नजाने निष्कर्षमा पुगे । ‘लसुन खेतीका लागि नगरपालिकाबाट सबै सहयोग पाएको छु अब यही कृषि गर्छु’, कामीले भने, ‘अर्काको मजदुर हुनुभन्दा कृषि र पशुपालनमा लाग्छु ।’ तीन कठ्ठा जग्गामा लसुन खेती गरिरहनुभएका उनले विस्तारै खेती विस्तार गर्ने लक्ष्य रहेको बताए ।

वेदकोट नगरपालिकाले नगरका विभिन्न वडामा कृषि पकेट क्षेत्र निर्धारण गरी कोरोना प्रभावितलाई स्वरोजगार बनाउन कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरेपछि रोजगारी गुमाएका थुप्रै युवा कृषिमा लागेका छन् । कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले पकेट क्षेत्रका आधारमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्बर ९ र १० मा प्याज खेती पकेट क्षेत्र बनाएर बेरोजगार युवालाई कृषिमा लाग्न तालीम र प्राविधिक सहयोग गरिरहेको छ । नगरपालिकाले युवालाई पहिलो चरणको तालीमसमेत सम्पन्न गरिसकेको जनाएको छ ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेका पनि कोरोनाका कारण रोजगारी गुमाएपछि च्याउ खेतीमा लागेका छन् । वेदकोट–३ स्थित आशापुर मुक्तकमैया शिविरमा च्याउखेतीका लागि नगरपालिकाले तालीम र प्राविधिक सहयोग गरेपछि मुक्तकमैया महिला च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दशैँअघि च्याउको बेर्ना राखेकी आशापुर शिविरकी रामदुलारी चौधरीले हरेक तेस्रो दिन रु पाँच हजार आम्दानी गरिरहेको बताइन् । ‘पहिला मजदुरी गरेर खर्च चल्थ्यो, बन्द भएपछि घर खर्च चलाउनै समस्यामा भयो’, उनले भनिन् ‘अहिले हरेक तेस्रो दिन च्याउ बेच्न महेन्द्रनगर बजारसम्म पुग्छु, रु पाँच हजारसम्म आम्दानी हुन्छ ।’

उनले प्रतिकिलो रु २५० का दरले च्याउ बिक्री गर्ने गरेको बताइन् । यस वर्ष ७० पोका बेर्ना राखेको बताउँदै उनले यो वर्ष रु एक लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाइन् । ‘च्याउबाट राम्रो आम्दानी हुने रहेछ अर्को वर्ष थप खेती विस्तार गर्छु’, चौधरीले भनिन्, ‘अहिले त घर खर्च यसैबाट चलाएकी छु ।’

त्यस्तै आशापुर शिविरकै आशादेवी डगौराले पनि च्याउ खेतीबाट घरखर्च चलेको बताइन् । दम्पती नै मजदुरमा गएर खर्च चलाउँदै आए पनि कोरोनामा काम नपाइएको उनको भनाइ छ । ‘अहिले हामी दुवै कृषिमा लागेका छौँ, कमाइ राम्रै छ’, उनले भनिन् ।

नगरपालिकाले यस वर्ष मात्रै कोरोना प्रभावित भएका युवा तथा विभिन्न नागरिकसहित ४०५ जनालाई कृषि क्षेत्रबाटै रोजगार बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।

त्यसका लागि नगरपालिकाको रु एक करोड र युएनडिपीको रु एक करोडको लगानीमा कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरिएको परियोजनाका संयोजक तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताए ।

‘कोरोना प्रभावित, एकल महिला, दलित र जनजातिलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘यो कार्यक्रमअन्तर्गत ४०५ लाई प्रत्यक्षरूपमा उद्यमी बनाउन लागेका छौँ ।’

कोरोनाका कारण विदेशबाट रोजगारीका गुमाएर स्वदेश फर्केका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गरेर कृषिमा आत्मनिर्भर हुनका लागि नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको नगरपालिका उपप्रमुख सुशीला सिंहले बताइन् ।

‘नगरपालिकालाई कृषिमा आत्मनिर्भर गर्नका लागि वडालाई पकेट क्षेत्र छुट्याएका छौँ’, उपप्रमुख सिंहले भनिन्, ‘यसले रोजगारीको सिर्जना हुनुका साथै आयस्तरमा समेत वृद्धि हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४