Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटार भेटको तरंग : ओलीले देउवालाई प्रधानमन्त्री ‘अफर’ गरेकै हुन् ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 5.4K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार दुई नेताबीच बालुवाटारमा भएको यो भेटले नेकपा मात्र होइन, कांग्रेससमेत तरंगित भएको छ ।

कांग्रेस नेताहरुका अनुसार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनदेखि भेटका लागि प्रस्ताव गर्दै आएका थिए । नेकपाको घर झगडा चर्किरहेका बेला भेट्नु उचित नहुने भन्दै नेताहरुले बालुवाटार नजान सुझाएका थिए ।

तर, देउवा शनिबार बालुवाटार पुगे ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति आफूनिकट केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर बालुवाटार गएका थिए । भेटमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल भएको थियो ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्याबारे खुलेर कुरा गरेका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावले आफ्नो पार्टी निकै संकटमा परेको उनले देउवालाई बताएका थिए ।

प्रचण्डले प्रस्तावमा आफूमाथि लगाएको आरोप स्वीकार गर्न नसक्ने, तर पार्टी केन्द्रीय कमिटीसम्म पुगे बहुमतले पास हुने अवस्था रहेको उनले सुुनाएका थिए । ‘वामदेव गौतमले साथ दिनुभयो भने मात्र हो, नभए त्यो प्रस्ताव बहुमतले अघि बढ्यो भने म प्रधानमन्त्रीबाट हट्नुपर्छ’ ओलीको भनाइ उद्धृत गर्दै कांग्रेस स्रोतले जन न्युज नेपाल खबरसँग भन्यो, ‘कांग्रेसले साथ दियो भने म सरकारमा रहिरहन सक्छु ।’

सत्ता सहयात्राबारे योभन्दा धेरै कुराकानी नभएको देउवा निकट एक नेताले दाबी गरे ।

प्रचण्ड–माधवमाथि दबाव दिने रणनीति

नेताहरुका अनुसार नेकपा फुट्छ वा फुट्दैन अहिलेसम्म अनुमानकै विषय छ । ओलीले प्रस्ताव गरेको भनिएको सत्ता सहकार्य भोलि पार्टी फुटेको अवस्थाका लागि हो ।

त्यसैले, प्रधानमन्त्रीले शनिबार गरेको भेट सत्ता सहयात्राको प्रस्ताव कम र पार्टीका विरोधी खेमामथि दबाव दिने दाउका रुपमा बढी प्रयोग गरेको कांग्रेस नेताहरु बताउँछन् ।

भेटलाई लिएर सत्ता सहयात्राको प्रस्ताव, ८ मन्त्रालय दिन तयार जस्ता समाचारहरु आउनुले पनि त्यसलाई पुष्टि गर्ने कांग्रेस नेताहरुको दाबी छ ।

‘यसअघि पनि आफ्नो पार्टीमा संकट परेका बेला देउवालाई भेटेर यसरी नै प्रचार गरिएको थियो’ देउवानिकट एक नेता भन्छन्, ‘त्यसैले योपटक हामीले नभेट्नुस् भनेका थियौं । तर, प्रधानमन्त्रीले तारन्तार बोलाएपछि गएँ भन्नुभयो ।’

यो भेटले पार्टीलाई सत्तालोलुप देखाएर बद्नाम गर्ने काम मात्र गरेको कांग्रेस नेताहरुको तर्क छ ।

त्यसोभए देउवा बालुवाटार किन गए ?

कांग्रेसका कतिपय नेता भने यो भेटमा ओली मात्र होइन, देउवाको पनि स्वार्थ रहेको बताउँछन् ।

पार्टीभित्र देउवा सहज अवस्थामा छैनन् । महाधिवेशन नजिकिँदै जाँदा आफ्नै समूहमा संकट चुलिएको छ । खासगरी उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने लगभग पक्का भएपछि देउवा दबावमा परेका छन् ।

फेरि पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाह भने घटेको छैन । त्यसैले सत्तारुढ नेकपा विभाजनसम्म हुन सक्ने गरी भएको विवादलाई चासोपूर्वक हेरेको नेताहरु बताउँछन् ।

एक नेता व्यंग्य गर्दै भन्छन्, ‘नेकपा फुट्यो भने मन्त्रीको अफर त बुढानीलकण्ठमा सुतेर बसे पनि आउँछ । प्रधानमन्त्रीको अफर छ कि छैन भनेर बुझ्न जानुभएको होला ।’

तर, ओलीले देउवालाई प्रधानमन्त्रीको अफर गरे कि गरेनन् भन्ने थाहा नभएको उनले बताए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाको विवादमा कांग्रेस निरपेक्ष रहेको दाबी गरेका छन् । ‘कोही कसैलाई भ्रम छ भने’ भन्दै उनले ट्वीट गरेका छन्, ‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं । यता या उताको जोड–घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४