वीरगञ्ज । भारतको रक्सौलबाट भन्सर छलेर अवैध रुपमा कपडा भित्र्याउने समूह र प्रहरीबीच वीरगञ्जको सीमा क्षेत्रमा आइतबार झडप भएको छ ।
झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे सामान्य घाइते भएका छन् । असई पाण्डेको नाकमा चोट लागेको प्रहरीले जनाएको छ । नारायणी अस्पतालमा उनको उपचार गरिएको छ ।
त्यसक्रममा चोट लागेपछि असई पाण्डेको नाकबाट रगत बग्न थाल्यो । असई पाण्डेले आफूलाई गोली लागेको भनेर माथिल्लो निकायमा जानकारी गराएका थिए । तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु बारीबाट एक राउण्ड गोली फायर भएको र आफूलाई त्यसको छर्रा लागेको असई पाण्डेको दाबी छ । बन्दुक भने तस्करले सिमापारी नै फालेको उनको भनाइ छ ।
गोली नै चलेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गंगा पन्त, प्रहरी नायब निरीक्षक मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।
प्रहरी नायब उपरीक्षक कुँवरले गोली प्रहार नभएको बताएका छन् । ‘तस्करी गरेर ल्याएको कपडाको पोका खोस्ने क्रममा असइको नाकमा सानो चोट लागेको छ,’ उनले भने ‘ गोली नै चलेको त हैन, तानातान भइरहेको समयमा कुनै बस्तुले आएर नाकमा लागेको हुन सक्छ, सानो गोलो घाउ छ ।’
घटनास्थल क्षेत्रकाका बासिन्दाले भने दुई पक्षबीच ‘आर्थिक लेनदेन’मा कुरा नमिल्दा झडप भएको बताएका छन् । सादा पोसाकमा रहेका असइ पाण्डेले कपडा छोड्नका लागि प्रत्येक महिलासँग ५ सय रुपैयाँ मागेका थिए । उनीहरुले सय रुपैयाँभन्दा बढी दिन नमानेपछि प्रहरीले कपडा खोसेको थियो । असइ पाण्डेले भने आफूले एक पैसा पनि नमागेको बताए ।
