Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पताल घुमाउँदा घुमाउँदै धनमायाको ट्याक्सीमै मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ५ २०७७
  • 6.8K
    SHARES

पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले ।

६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो घर बाहिर निस्किएर छिमेकीसँग सहयोग मागे । मधुकर काफ्ले, महेन्द्रप्रसाद तिमिल्सिनालगायतले ट्याक्सी खोजे र, धनमाया बेलाबेला उपचार गराउन जाने सिर्जनाचोकको मेट्रोसिटी अस्पताल पुर्‍याए ।

श्वासप्रश्वासम्बन्धी समस्या भएको थाहा पाएपछि अस्पताल प्रशासनले गेटबाटै ‘बेड छैन’ भनेर फर्काइदियो । मेट्रोसिटीबाट ट्याक्सी घुमाएर नयाँबजारस्थित गण्डकी मेडिकल कलेज पुर्‍याइयो । ‘गण्डकीले पनि बेड नभएकाले भर्ना गर्न नसकिने बतायो । त्यहाँबाट बिरामी लिएर चरक मेमोरियल पुग्यौं,’ गोरखा पालुङटार घर भई पछिल्लो समय वुद्धचोक बस्दै आएका छिमेकी महेन्द्रप्रसादले भने, ‘चरकले पनि बिरामी भर्ना गर्न बेड नभएको भन्दै फर्काइयो ।’
धनमायाकी छोरी दियाले पनि अस्पतालको लापरबाहीकै कारण आमाको ज्यान गएको बताइन् । ‘केही परे एक से एक अस्पताल छन् भनेर लामो समयदेखि पोखरामै हुनुहुन्थ्यो,’ दियाले भनिन्, ‘बुबाआमा दुबै जनाको सरकारी पेन्सन छ । पैसाको समस्या थिएन, तर उपचार नपाएरै आमाले ज्यान गुमाउनु पर्‍यो ।’

चरकदेखि नजिकै पर्छ, फेवासिटी अस्पताल । फेवासेटीमा फोन गर्दा बेड खाली नभएको र कोरोनाका शंकास्पद बिरामी नलिने जवाफ पाएको महेन्द्रप्रसादले सुनाए । त्यसपछि उनीहरु धनमायालाई लिएर फिस्टेल अस्पताल, पालिखेचोक पुगे ।

फिस्टेलले पनि बिरामीको अवस्थाबारे जानकारी लिएर भर्ना लिन मानेन । त्यहाँबाट बिरामीलाई मणिपाल शिक्षण अस्पताल पुर्‍याइयो । मणिपालले बिरामीको अवस्था हेर्‍यो । १ लाख २५ हजार रुपैयाँ धरौटी जम्मा गरेपछि मात्र बिरामी भर्ना गर्न सकिने बतायो ।

अस्पतालले धरौटी नराखेसम्म भर्ना गर्न नसक्ने बतायो । ‘हामी छिमेकी हौं भन्यौं तर मानेनन्,’ महेन्द्र भन्छन्, ‘यस्तो अमानवीय र दिक्दार लाग्दो घटनाले मन बिक्षिप्त बनाएको थियो, रिस पनि उठेको थियो । तर, हामी के नै गर्न सक्छौं र ?’

अस्पतालहरुले भर्ना लिन नमानेपछि महेन्द्रप्रसादले केही हुन्छ कि भनेर प्रशासनलाई गुहारे । सीडीओको फोन उठेन, जिल्ला प्रहरी अधिकारीले शान्ति सुरक्षाको विषय नभएकाले अस्पतालले भर्ना नलिएकोबारे केही गर्न नसक्ने बताए ।

रात छिप्पिँदै गइसकेको थियो । तत्काल सवा लाख धरौटी जम्मा गर्ने अवस्था थिएन । छिमकीहरु अस्पतालको खोजीमा मणिपालबाट बाहिरिँदै गर्दा धनमायाले ट्याक्सीमै प्राण त्यागिन् । स्वास्थ्य उपचार गर्न सजिलो होस् भनेरै पोखरामा कोठा भाडा लिएर बसेकी धनमायाले उपचार नपाएरै ज्यान गुमाउनु पर्‍यो ।

बेलुका ७ बजेदेखि वेडको खोजीमा शहर फनफकनी घुम्दापनि धनमायाले उपचार पाइनन् र राति साढे १० बजेतिर प्राण त्यागिन् । ‘मणिपालबाट फर्किँदै गर्दा उनका आफन्त आइपुगेका थिए तर, ट्याक्सीमै ज्यान गइसकेको थियो,’ महेन्द्रप्रसादले भने, ‘समयमै अस्पतालमा उपचार गर्न पाएको भए उनको ज्यान बच्थ्यो ।’

धनमायाकी छोरी दियाले पनि अस्पतालको लापरबाहीकै कारण आमाको ज्यान गएको बताइन् । ‘केही परे एक से एक अस्पताल छन् भनेर लामो समयदेखि पोखरामै हुनुहुन्थ्यो,’ दियाले भनिन्, ‘बुबाआमा दुबै जनाको सरकारी पेन्सन छ । पैसाको समस्या थिएन, तर उपचार नपाएरै आमाले ज्यान गुमाउनु पर्‍यो ।’

ट्याक्सीमै ज्यान गुमाएकी धनमायाको राति नै स्याङ्जा लगिएको छ र त्यही गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि मृत्यु भइसकेकाले परिवारले परीक्षण गराउन चाहेन । छोरी दिया भन्छिन्, ‘उपचार नपाएर ज्यान गुमाउनु परेपछि टेस्ट गरेर केही फाइदा ?’

धनमायाहरुले उपचार नपाएर मृत्युवरण गर्नु परेको बेला प्रदेश स्वास्थ्य निर्देशनालयले भने बेडको हिसाब गरेर बसेको छ । उसका अनुसार कोभिड–१९ को उपचारका लागि गण्डकी प्रदेशमा ११७ आईसीयू र ५० भेन्टिलेटर तथ्यांक छ । त्यसमध्ये पोखराबाहिर जम्मा १५ आईसीयू र ९ भेन्टिलेटर पोखराबाहिरका हुन् । तर कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएकी धनमाया आईसीयू त टाढाको कुरा अस्पतालमा भर्नासमेत पाउन सकिनन् ।

यसले कोरोनाका संक्रमित वा सम्भावित संक्रमितले उपचार पाउन कति कठिन छ भन्ने देखाएको छ । उपचार गर्न नेतादेखि मन्त्रीसम्मको भनसुन चाहिने अवस्था रहेको एक चिकित्सकले सुनाए । केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक नेतालाई कोरोनाको लक्षण देखिएको थियो ।

संघीय सांसदले फोन गरेर भनसुन गर्नुका साथै राति नै धरौटी बझाएपछि मात्र बेड पाएको एक कार्यकर्ताले बताए । ‘सर्वसाधारण गम्भीर बिरामी भए उपचार नपाएरै मर्नुपर्ने अवस्था छ’ उनले भने, ‘बेड पाउनै भनसुन गर्नुपर्छ । गम्भीर खालका कोभिड बिरामी र अन्य बिरामीलाई निजी अस्पतालले पनि लिन मान्दैन ।’

केन्द्र सरकारले उपचारबाट हात झिक्नु तथा प्रदेश र स्थानीय सरकारले समन्वय गर्ने संयन्त्र नबनाउँदा पनि यो अवस्था आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर बताउँछन् । प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले भने निजी अस्पतालले बिरामी लिन्न भन्न नपाउने दाबी गरे । तर त्यस्तो घटनामा समन्वय गर्नेबाहेक अधिकार आफूसँग नभएको भन्दै निरिहता देखाए ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले निजी अस्पतालसँग सम्झौता गर्ने र बिरामीको भर्ना, उपचार कसरी गर्ने भन्नेबारे छलफल भइरहेको औपचारिक जवाफ दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४