Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लकडाउनपछि बालविवाह बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 6.9K
    SHARES

कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज गरे । “म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्”, बालिकाकी आमा दिव्या शर्माले भनिन्, “मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् । इज्जत फालिसकेकी छोरी ल्याउनु हुन्न भने ।”

लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ । ‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ”, दिव्याले भनिन्, “त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ ।”

कोरोना महामारीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन् । यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभुवन माविका शिक्षक आशा कठरिया बालविवाह बढिरहेको बताउँछिन् । “लकडाउनपछि बालविवाह बढेको छ । बालविवाह गरेका धेरै किशोरी गर्भवती भएकाले उनीहरुको पढाइमा बाधा पुग्छ”, कठरिया भन्छिन्, “हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन् ।” गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उहाँलाई छ । “हामीले विद्यालयको कक्षामा बालविवाहबारे धेरै छलफल गर्छौँ, बालविवाहका असरबारे सचेत गराइन्छ”, कठरिया भन्छन्, “तर पनि बालविवाह रोक्न सकिएको छैन ।”

अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका कारण पनि उमेर नपुग्दै विवाह बढिरहेको बताउँछन्  । “बालविवाह गरेका जोडीलाई समाजले स्वीकार गरिरहेको छ । छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वीकारेपछि उजुरी पर्दैन”, रामफल भन्छन्, “गरिबीका कारण पनि बालविवाह रोक्न सकिएको छैन । छोरी जवान भए जिम्मेवारी उठाउन डराएर विवाह गरिदिने अभिभावक पनि छन् ।”

नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ । पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ । सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ । कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक÷एकवटा बालविवाहको उजुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घटना दर्ता भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बालविवाहसम्बन्धी एउटा मुद्दा चलाइसकेको छ । “एउटा विवाहमण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ । यसले पनि बालविवाह दोब्बरले बढेको देखाउँछ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने भन्छन्, “बालविवाह उजुरी हामीसम्म पुग्दैनन्, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ ।”

बालविवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण सङ्घका नयनतारा श्रेष्ठ बताउँछन् । “कम उमेरमा हुने विवाहले हुने असर कम गर्न विवाह नै गर्न र गराउन दिनुहुँदैन”, श्रेष्ठ भन्छन्, “यसका  लागि सबैभन्दा पहिला अभिभावक र समाज सचेत बन्न आवश्यक छ ।”

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४